खजुरा (बाँके)- यही मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि बाँकेमा राजनीतिक दलहरु मतदाता रिझाउन प्रचारप्रसारमा जुटिरहेका छन्।
उम्मेदवारहरुले बाँकेका तीन वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ६ वटै प्रदेशसभा क्षेत्रमा प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
उम्मेदवारले मतदातासँग विभिन्न विकासे मुद्दा तथा विभिन्न नयाँ योजनाको आश्वासन बाँडिरहेका छन्। नेपालगञ्ज उपमहानगरपालिकासँग जोडिएको बाँके क्षेत्र नम्बर २ का अधिकांश उम्मेदवारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, प्रादेशिक राजधानी, डुबान तथा कटान समस्यालाई मुख्य एजेन्डा बनाएका छन्।
वाम गठबन्धनका उम्मेदवार पशुपतिदयाल मिश्रले नेपालगञ्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। यसका साथै नेपालगञ्ज विश्वविद्यालय स्थापना र राप्ती नदीको समस्यालाई दीर्घकालीन रुपले समाधान गर्ने उनका अन्य एजेन्डा छन्।
लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश आजादले नेपालगञ्जमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रियस्तरको सभागृह स्थापना, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाको डुबान र कटान समस्या दीर्घकालीनरुपले समाधान गर्ने तथा आफ्नो क्षेत्रमा शिक्षा स्वास्थ्य र रोजगारी सिर्जना गर्ने एजेन्डा अगाडि सारेका छन्।
संघीय समाजवादी फोरम नेपालका मोहमद इश्त्यिाक राईले नेपालगञ्जलाई प्रादेशिक राजधानी बनाउने, तटबन्ध निर्माण र डुबान समस्याको समाधान गर्ने एजेन्डा मतदातासामु राखिरहेका छन्। उनले चुनाव जितेपछि लक्ष्मणपुर बाँध समस्याका विषयमा भारतसँग भएका समझदारी लागू गराउने बताए।
यस्तै, राष्ट्रिय जनता पार्टीका उम्मेदवार विजयकुमार गुप्ताले नेपालगञ्जमा अवरुद्ध रहेका थुप्रै योजना पूरा गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।