गोरखा– निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न गोरखाका सुरक्षा समितिलाई निर्देशन दिएका छन्।
गोरखा बजारमा सोमबार आयोजित छलफलमा निर्वाचन आयुक्त पौड्यालले निर्वाचनलाई भयमुक्त वातावरणमा गराउने कार्यमा सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गरेका छन्। उनले मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाको विषयमा प्राप्त भएका सुझावलाई निर्वाचन आयोगले गम्भीर रुपमा हेरिरहेको बताए।
‘अहिलेको मुख्य विषय सुरक्षा भएकाले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन आवश्यक छ’, उनले भने।
आयुक्त पौड्यालले क्षेत्रीय सुरक्षा समिति र गोरखाका सुरक्षा समितिसँग लामो कुराकानी गरेका थिए। कुराकानीमा उत्तरी गोरखाका ३१ मतदान केन्द्रमा मतपत्र ढुवानी तथा मतदान अधिकृतहरूलाई लैजान नेपाली सेनाको हेलिकोप्टर निर्वाचन आयोगले उपलब्ध गराउने जानकारी समेत दिए।
मंसिर १० गते निर्वाचन भएपछि सबै मतपत्रलाई जिल्लामा केन्द्रित गरी मतपत्र राखिने स्थानमा सिसिटिभी राख्न समेत उनले निर्देशन दिएको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिए ।
उत्तरी गोरखामा रहेका ३१ मतदान केन्द्रमध्ये ११ स्थानमा जान सदरमुकामबाट ६/७ दिन पैदल हिँड्नुपर्छ।
दलका नेताहरु समेत सम्मिलित छलफलमा जिल्ला नेताहरुले गोरखामा विभिन्न उम्मेदवारले निर्वाचन आचारसंहिताको उल्लंघन भएको आरोप लगाए।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष यादव बस्नेतले स्थानीय तह निर्वाचनको मतदान केन्द्र अहिले परिवर्तन गरिएको भन्दै मतदान गर्ने स्थान अहिलेसम्म पत्तो नहुनु निर्वाचन कार्यालयको गम्भीर त्रुटि भएको आरोप लगाए।
यस्तै, कांग्रेसका नेता नारायण आर्चायले मतदाता शिक्षा दिन जाने स्वयंसेवकहरुले राजनीतिक दलको चुनाव प्रचारप्रसार गरेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।