गोरखा– निर्वाचन क्षेत्र नम्बर–२ का वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठले निर्वाचनपछि विकासको लहर आउने दाबी गरेका छन्। गोरखा नगरपालिका–९ मा घरदैलो कार्यक्रममा बोल्दै श्रेष्ठले चुनावपछि विकासले गति लिने बताएका हुन्। आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधनपछि काठमाडौं पुगेका नेता श्रेष्ठ सोमबार बिहानैदेखि गोरखामा चुनावी सभामा खटिएका हुन्।
श्रेष्ठले स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर प्राथमिकताका आधारमा विकास निर्माणका काम गर्ने बताए। ‘गोरखाको समग्र विकासका लागि वाम गठबन्धनलाई विजयी गराउनुहोस्,’ श्रेष्ठले पुसमा वामपन्थीको स्थायी सरकार आउने पक्का भएको दाबी गर्दै भने, ‘विकासका लागि स्थायी सरकार चाहिन्छ। अब केन्द्र सरकार र प्रदेश सरकार दुवै वामपन्थीको नेतृत्वमा बन्छ।’
कम्युनिस्टहरुको लाल किल्ला गोरखाको इतिहास कायम राख्न श्रेष्ठले अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।