काठमाडौं- राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा उमेरले ७६ वर्ष पुगे। ३५ वर्षदेखि सिन्धुपाल्चोकको राजनीतिमा सक्रिय राणा यो उमेरमा पनि तन्नेरी जोशका साथ विकट गाउँको चुनावी यात्रामा छन्। पहिलो र दोस्रो संविधानसभाको चुनावमा पराजित भएका राणा ढल्केको आफ्नो उमेरको वास्ता नगरी तीन दिन लगातार हिँडेर हिमाली गाउँहरु पुग्दै आफ्नो पक्षमा मत मागिरहेका छन्।
राणाको तन्नेरी जोश देखेर उनका कार्यकर्ताहरु पनि उत्साहित हुँदै निर्वाचनमा सक्रिय छन्।
गाउँ गाउँमा पुग्दा ठूलो साथ र सहयोग स्थानीयबाट पाएपछि उनी झनै हौसिएका छन्। ‘यस अघिका २ निर्वाचनमा राम्रोसँग हिँडडुल गर्नै पाइनँ तैपनि मैलै थोरै मात्र मतले पराजित भएको थिएँ’, राणाले टेलिफोनमा हेलम्बुबाट भने, ‘तर यसपाला कांग्रेसको साथीहरुको ठूलो सहयोग पाएको छु, दुवै प्रदेशसभाको उम्मेदवार कांग्रेसको भएकोले पनि मलाई निर्वाचन जित्नेमा कुनै दुबिधा छैन।’
‘हिमाली गाउँलाई पर्यटकीय स्थल बनाउने नारा’
राणाले यस पटक धेरै चुनावी एजेण्डा र आश्वासन बाँडेका छैनन्। हिमाली गाउँहरुलाई पर्यटकीय स्थल बनाउने र तल्ला गाउँहरुमा पुनर्निर्माणमा साथ दिने दुई वटा मुख्य नारा उनको छ।
हेलम्बु, पाँचपोखरी र मेलम्ची ध्याङ, आम्वाथान, मेलम्ची खानेपानीको मुहान र भेटेचौरको चिया बगानलाई वैदेशिक लगानी र आफ्नै व्यक्तिगत पहलमा एक वर्षभित्र पर्यटकीय स्थल बनाउने एक सूत्रिय एजेण्डामा राणा निर्वाचन प्रचार गरिरहेका छन्।
राणाले हरेक क्षेत्रमा एकएक वटा पर्यटकीय स्थल निर्माण गरिदिने वाचा गरेको हेलम्बुका स्थानीय मतदाता तथा पर्यटन व्यवसायी टासी शेर्पाले बताए।
‘भूकम्पले भत्केका संरचना बनाउन र पर्यटकीय छबि पुनः फर्काउन राणाले वचन दिएका छन्’, शेर्पाले भने, ‘उनले साथमा पर्यटक व्यवसायीलाई समेत प्रदेशको उम्मेदवार रुपमा ल्याएकाले यस्तो वचन गाउँमा दिएका छन्।’
‘मैले अन्य पार्टीका झैं धेरै चुनावी गफ जनतालाई दिएको छैन’, राणाले भने, ‘मैले निर्वाचनमा पराजित भए पनि गर्न सक्ने कुरा मात्र भनेको छु, उक्त कुरा पूरा गरेर देखाउँछु।’
प्रदेशसभामा उम्मेदवार भएका पर्यटक व्यवसायी निमा लामाले साथ दिने भएपछि आफूले स्थानीयलाई बचन दिएको राणाले बताए।
क्षेत्र नम्बर २ को (ख) तर्फका उम्मेदवार लामाले पनि अब सिन्धुपाल्चोकको विकासका लागि लोकतान्त्रिक शक्ति एक भएर लाग्नुपर्ने देखेकोले राणा र आफ्नो संयुक्त एजेण्डा पर्यटनको विकास भएको बताए।
पछिल्लो समयमा राणाको पक्षमा माहौल बढेको भोटसिपाका स्थानीय वीरवहादुर मगर बताउँछन्।
राणालाई लामाको साथ
राणालाई प्रदेशका उम्मेदवार लामाले गतिलो साथ दिएका छन्। उनी पर्यटन व्यवसायीको रुपमा गाउँमा परिचित छन्। लामा युवा लक्षित प्रचार अभियानमा लागेकाले तटस्थ रहेका मतदाता आउने विश्वासका साथ प्रचारमा लागेका छन्।
कम छैनन् शेरबहादुर तमाङ
दोस्रो संविधान सभाको निर्वाचनमा राणालाई २ हजार फरक मतले हराएका तमाङ उक्त क्रम निरन्तर राख्न गाउँगाउँमा सक्रिय छन्। संविधानसभाबाट संविधान जारी गर्दै हुन लागेको निर्वाचनमा आफूलाई पुन मत दिनुपर्ने अनि मात्र विकासका कार्य गर्न आफू सफल हुने तमाङको नारा छ। संविधान निर्माणमा आफ्नो सक्रिय भुमिकालाई न्याय दिन यस पटक पुन मत दिनुपर्ने उनको माग छ।
वाम गठबन्धनका तर्फबाट उनलाई माओवादीका पूर्व सांसद दावा तमाङले साथ दिएका छन्। पहिलो संविधानसभामा आफैंलाई पराजित गरेको उम्मेदवार तामाङको साथ पाएपछि शेरबहादुर गाउँमा युवा लाई जिताउनुपर्ने नारा बाँड्दै हिडेका छन्।
यसअघि तीन क्षेत्र रहेको यस जिल्लामा नयाँ संविधान जारी भएपछि दुई वटामा सीमिति भएको छ। यसअघिको भन्दा मतदाता र क्षेत्र बृद्धी भएकाले दुवै उम्मेदवार आफूले जित्नेमा ढुक्क देखिँदैनन्। त्यही कुरालाई ख्याल गर्दै तमाङ पनि जिल्लाका सबै स्थानका मतदाताको घर आँगनमा पुग्न दौडधुपमा छन्।
पहिलो चरणमा मंसिर १० गते हुन गइरहेको निर्वाचन आफ्नो पक्षमा पार्न उनीहरु जिल्लामा मतदाता तान्ने चुनावी एजेण्डा वितरणमा व्यस्त छन्। निर्वाचन प्रचारको क्रममा तालामाराङ पुगेका तामाङले जनता वाम गठबन्धनको पक्षमा देखिएका निर्वाचन जित्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।