दमक- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिन काट्ने र काल पर्खनेहरु नेता हुन नसक्ने बताएका छन्।
शनिबार झापाको दमकमा आयोजित चुनावी सभामा बोल्दै दाहालले भने, 'नेता हुन सरदरबाट माथि उठ्नुपर्छ। घिसेपिटे तरिकाले राजनीति धान्नेहरु नेता हुन सक्दैनन्।'
अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओली र आफूले त्यो घिसेपिटे तरिका भत्काइदिएको दाबी समेत गरे। दाहालले अगाडि भने, 'हामीले निरन्तरतामा क्रमभंग गरेका छौं, नयाँ तरंगसहित नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने संकल्प गर्दै नयाँ आवेगसहित आएका छौं।'
नेताहरुले सही ढंगले सोच्दा इतिहास २०/३० वर्ष अगाडि जान सक्ने तर नेताहरुले गलत सोच्दा राजनीति र इतिहास कैयौं वर्ष पछाडि धकेलिने टिप्पणी गरे। ओली र आफूले जोखिम उठाएर नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने, राजनीतिक स्थिरता दिने र आर्थिक समृद्धितिर अघि बढ्ने संकल्प गरेको दाहालको भनाइ थियो।
'कमरेड केपीले निरंकुश पञ्चायत विरुद्ध संघर्षको जोखिम उठाउनुभयो, वर्षौं जेल बस्नुभयो। मैले जनयुद्धको जोखिम उठाएँ, नेपालमा सामन्ती राजतन्त्रको अन्त्य भयो। शान्ति प्रक्रियाको जोखिम उठाएँ। नेपालमा ठूल्ठूला परिवर्तन भए', दाहालले भने, 'आज फेरि देशको विकास र समृद्धिका लागि हामीले सकारात्मक रुपले सोच्यौं र एकता सम्भव भयो।'
कांग्रेसले २५/३० वर्ष नेपालमा शासन गरे पनि विकास र समृद्धिका लागि केही नगरेको अध्यक्ष दाहालले आरोप लगाए।
'अब देशको जिम्मा कम्युनिस्टहरुले लिन्छन्। कांग्रेसले जित्दा लोकतन्त्र बलियो हुने हामीले जित्दा अधिनायकवाद हुने ? के देश कांग्रेसको बपौती हो? हामी लोकतान्त्रिक प्रणालीमै छौं', दाहालले बताए।
चुनाव रोक्न अहिले पनि षड्यन्त्र भइरहेको भन्दै अध्यक्ष दाहालले कसैले चाहेर चुनाव नरोकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।