काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लुकेर उम्मेदवारमाथि आक्रमण गर्नेहरु आतंककारी भएकाले तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
आफूमाथि आक्रमण भएपछि पौडेलले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्व सरकारको सुरक्षा व्यवस्थाको आलोचना गरेका हुन्। उनले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।
तनहुँको भानु गाउँपालिका १० नेपाल डाँडामा चुनावी सभा गरेर लमजुङ जाँदै गर्दा उनी चढेको बा१३च ३७४६ नम्बरको गाडीलाई लक्षित गर्दै शनिबार दिउँसो ३ बजे प्रेसर बम विस्फोट गरिएको थियो।
आफू सकुशल रहेको जानकारी गराउँदै पौडेलले टेलिफोनमा नेपाल लाइभसँग भने ‘सरकारले उम्मेदवारको सुरक्षा व्यवस्थामा सफल देखिएन, सुरक्षा रणनीति बदलेर चाँडै भरपर्दो व्यवस्था गर्न माग गर्छु।’
बम विस्फोटबाट गाडीको शीशा क्षति भएको छ। उनले गाडीको पछाडिको सिटमा बसेको आफूलाई थोरै चोट लागेको र गाडीमा रहेका अन्य व्यक्ति सकुशल रहेको बताए।
यसअघि शुक्रबार नुवाकोटमा पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि पनि आक्रमण भएको थियो।
वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण हुँदा सरकारले निर्वाचन भाँड्ने षड्यन्त्र गरेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रले आलोचना गरिरहेको अवस्थामा नेपाली कांग्रेसका नेतामाथि पनि आक्रमण सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।