विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताएका छन्।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्षले उम्मेदवारलाई सुरक्षित रुपमा निर्वाचन कार्यक्रममा सहभागी हुन सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताए।
ओलीले देशका विभिन्न स्थानमा वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण हुँदा पनि वर्तमान सरकार मौन बसेको आरोप लगाए।
उनले भने, 'उम्मेदवारमाथि आक्रमण हुँदा पनि सरकारले केही गरिरहेको छैन। सरकार नै निर्वाचनको मिति पर सार्न लागिपरेको छ।'
अर्को प्रसंगमा अध्यक्ष ओलीले सरकारबाट राज्यकोष दुरुपयोग गरी निर्वाचन प्रभावित गर्ने कार्य भइरहेको बताउँदै निर्वाचनपछि बन्ने सरकारले यसबारे छानबिन गर्ने र दोषीमाथि कारबाही गर्ने बताए।
सरकारबाट निर्बाध रुपमा निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोगले प्रभावकारी ढंगले अनुगमन नगरेको ओलीको टिप्पणी थियो।
साथै, ओलीले आगामी निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले भ्रष्टाचार नियन्त्रण गरी विकासको प्रतिफल जनतासम्म पुर्याउने दाबी गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।