ब्रसेल्स, बेल्जियम- स्पेनी सरकारले राज्य टुक्राउने अभियानमा संलग्न रहेको आरोपमा पक्राउपूर्जी जारी गरेका क्याटलोनियाली नेता चार्ल्स पुज्डमोन लगायत चार नेता बेल्जियमको अदालत पुगेका छन्।
स्पेन सरकारलाई सुपुर्दगी गर्ने वा नगर्ने निर्णयमाथि हुने सुनुवाइमा सहभागी हुन उनीहरु शुक्रबार अदालत उपस्थित भएका हुन्।
देश टुक्राउने असफल अभियानमा लागेका पुज्डमोन र चार पूर्वमन्त्री गत महिना बेल्जियममा शरण लिन गएपछि उनीहरूलाई पक्राउ पूर्जी जारी भएको थियो।
तर क्याटलोनियाको स्वतन्त्रता अभियानमा सहभागी ती नेताले आफूलाई स्पेनी अदालतले न्यायपूर्ण निर्णय नदिने डरमा स्पेनी अदालतमा उपस्थित नभएपछि उनीहरूलाई युरोपी कानुन बमोजिम पक्राउ गरी सुपुर्दगी गर्न स्पेनले आग्रह गरेको थियो।
बेल्जियमको अदालतले क्याटलोनियाली विद्रोही नेता तथा उनीहरूको वकिलबाट भनाइ सुन्ने र सुपुर्दगी गर्न भनी स्पेनले गरेको आग्रह जायज लागेमा उनीहरूलाई स्पेन प्रशासनलाई जिम्मा लगाउनेछ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।