कुबिण्डे (सिन्धुपाल्चोक)- पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै सिन्धुपाल्चोकमा चुनावी रौनक बढ्दै गएको छ।
जिल्लाको दुई क्षेत्रमध्ये प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट पूर्व सञ्चारमन्त्री अग्निप्रसाद सापकोटा र लोकतान्त्रिक गठबन्धनबाट सञ्चारमन्त्री मोहनबहादुर बस्नेत चुनावी प्रतिस्पर्धामा भएकाले पनि अहिले यो क्षेत्र विशेष चर्चामा छ।
चुनाव आउन १० दिन मात्र बाँकी हुँदा चोक चोक र चिया पसलमा मतदाताबीच मतको अंकगणीय लेखाजोखासमेत हुन थालेको देखिन्थ्यो।
निर्वाचन नजिकिएसँगै उम्मेदवारद्य भने बौद्धिक बहस र विकासे एजेण्डामा भन्दा एकअर्काप्रति आक्रामक शैलीमा प्रचारमा व्यस्त छन्। दुवै उम्मेदवारले एक अर्कालाई भ्रष्टाचारीका चेलासमेत भन्न भ्याइसकेका छन। एक अर्कालाई गाली गरेरै मतदातालाई आकर्षित गर्न उनीहरु भड्किलो प्रचार शैलीमा छन्।
सापकोटा २०६४ को पहिलो संविधानसभा तथा दोस्रो २०७० मा सिन्धुपाल्चोक २ बाट निर्वाचित हुन् भने बस्नेत २०५६ को आम निर्वाचन तथा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित हुन्। अहिले निर्वाचन क्षेत्र गाभिएसँगै दुवै नेता पहिलो पटक आमनेसामने भएका हुन्।
दाबी आ-आफ्नै
बस्नेत सिन्धुपाल्चोकमा निक्कै परिचित छन्। बस्नेतको तुलनामा सापकोटा कम परिचित छन्। यसअघिका दुई संविधानसभा निर्वाचनमा सापकोटाले प्रतिनिधित्व गर्दै आएको तत्कालीन क्षेत्र नं. २ को आधा भूगोल मात्र अहिले यो क्षेत्रमा मिसिएको हुँदा आधा भूभागले उनलाई खासै चिन्दैन।
तर, स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यहाँ वाम गठबन्धन निकै बलियो छ। भोटेकोसी, लिसंखुपाखर, बलेफी, जुगल, त्रिपुरासुन्दरी, सुनकोसी गाउँपालिका, बाह्रबिसे र चौतारा नगरपालिका–२, ३, ४, ९ र १० वडा समेटिएको यो क्षेत्रमा वाम गठबन्धनसँग ४४ हजार ७६ मत छ। एमालेले २४ हजार १८८ र माओवादी केन्द्रले १४ हजार ३८८ मत ल्याएको थियो।
लोकतान्त्रिक गठबन्धनका पक्षमा भने ३० हजार ५५५ मत देखिन्छ। स्थानीय निर्वाचनमा कांग्रेसले २१ हजार ६२९ र राप्रपाले आठ हजार ९२६ मत पाएको तथ्यांक छ। यसरी हेर्दा लोकतान्त्रिकको तुलनामा वाम गठबन्धनसँग अझै १३ हजार ५२१ मत बढी छ। त्यसकारण पनि चर्चामा रहेका बस्नेतलाई चुनाव जित्न सजिलो छैन।
मन्त्री बस्नेत भने यो मान्न तयार छैनन्। ‘विकासका हिसाबले मैले धेरै काम गरेको छु, मेरो जित सुनिश्चित छ,' उनी दाबी गर्छन्। जिल्लामा बस्नेत छैटौँ पटक र सापकोटा चौथौपटक चुनावी मैदानमा छन्।
‘यसपटक बस्नेतको जित सुनिश्चित छ,’ नेपाली कांग्रेसका क्षेत्रीय सभापति टंकबहादुर कार्कीले भने, ‘सापकोटालाई एमालेको भर छ। सबै एमाले कार्यकर्ताले भोट नहाल्न पनि सक्छन्। यो क्षेत्र बस्नेतको पकेट क्षेत्र हो। त्यसैले जित पक्का छ।’
उम्मेदवार सापकोटा स्थानीय तहको मत विश्लेषण गर्दा १० देखि १५ हजार मतान्तरले जित्ने दाबी गर्दै आएका छन्।
कुबिण्डेका बासिन्दासमेत रहेका सापकोटाले भने, 'बीस वर्षमा कांग्रेस कुबिण्डे पस्यो भनेर भन्नु प्रचारको शैली मात्र हो।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।