दार्चुला- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको टिप्पणी गरेका छन्।
कांग्रेस दार्चुलाले सदरमुकाम खलंगामा गरेको चुनावी सभामा देउवाले लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहे पनि कम्युनिस्टको एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा बढेको बताए।
'कम्युनिस्टले घुमाइफिराइ एकता गरेर जनतालाई धम्क्याउने, डराउने र त्रासमा राख्ने कोसिस गरिरहेका छन्', प्रधानमन्त्री देउवाले भने।
देउवाले राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको कांग्रेसले जनतालाई देशको मालिक बनाएको बताए।

दार्चुलाको विकासका लागि कांग्रेस सधैं तयार रहेको भन्दै सभापति देउवाले चुनाव लगत्तै व्यास, अपि हिमाल, मार्मा र लेकम गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखेर स्थानीय तहलाई सहुलियत दिइने आश्वासन दिए।
प्रधानमन्त्रीले कञ्चनपुरको ब्रहमदेवदेखि दार्चुलाको तिंकरसम्म जोड्ने २९० किलोमिटरको महाकाली करिडोरलाई दुई वर्षभित्र पूरा गरिने र भारतसँग सीमानाका जोडिएको जिल्ला सदरमुकाम र जौलजीवीमा पक्की पुल बनाइने प्रतिबद्धता व्यक्त गरे।
सोही सभामा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाका नौ स्थानीय तहमध्ये पाँच तहमा पार्टीले जित हासिल गरेकाले जिल्लामा कांग्रेसको जित सुनिश्चित भइसकेको जिकिर गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।