कान्दाहार- अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रबार बिहान गरेको कारबाहीमा १९ जना तालिवान लडाकु मारिएका छन्।
कान्दाहार प्रान्तको शहर-ए-सफा जिल्लामा तालिवान लडाकुहरु लुकेर बसेको इलाकामा सीमा प्रहरी बलले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ।
कारबाहीका क्रममा अफगान फौजले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ।
सो क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यो कारबाहीबारे कुनै प्रतिक्रिया दिएको छैन।
तालिवानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतंक मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ।
गत हप्ता मात्र तालिवानहरुले कान्दाहारको एक प्रहरी चौकीमा आक्रमण गरी कैयौं सुरक्षाकर्मीको ज्यान लिएका थिए। सो क्षेत्रमा अहिले प्रहरीले गस्ती बढाएको जनाइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।