विराटनगर- उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपा नेपालबीच सहमति हुने बताएका छन्।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गच्छदारले आसन्न चुनावमा प्रदेश नम्बर २ मा लोकतान्त्रिक शक्तिका उम्मेदवारलाई विजयी गराउने सम्बन्धमा तीनै दलबीच छलफल भइरहेको र चाँडै सहमति कायम हुने विश्वास व्यक्त गरे।
'अन्य प्रदेशमा पनि स्थानीय स्तरमा वार्ता र छलफल भइरहेकाले केही दिनमा सहमति हुनेछ', गच्छदारले बताए।
उपप्रधानमन्त्री गच्छदारले सरकारले सुरक्षाको सम्पूर्ण संयन्त्र प्रयोग गरी उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा निर्वाचनमा प्रचारप्रसारको व्यवस्था मिलाइएको बताए।
उनले आर्थिक समृद्धि र पछाडि परेका जनताको हकअधिकार दिलाउन जनताले लोकतान्त्रिक गठबन्धनलाई बहुमतको सरकार निर्माण गर्न मत दिने विश्वास समेत व्यक्त गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।