सल्यान- सल्यानमा स्वतन्त्र उम्मेदवारले माओवादी केन्द्रको झन्डा बोकेर प्रचारप्रसार गरेपछि वाम गठबन्धनले आपत्ति जनाएको छ। स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई पार्टीको झन्डा बोक्ने कुनै अधिकार नभएको भन्दै पार्टीका नेताहरूले कार्यकर्तामा अन्योल र भ्रममा नपर्न आग्रह गरेका छन्।
बिनाविभागीय मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतले वाम गठबन्धनविरुद्ध उम्मेदवारी दिएर पार्टीको झन्डा बोक्ने नैतिकता बागीलाई नभएको बताए। बागी उम्मेदवारका नाममा झन्डा बोकेर गाईजात्रा नदेखाउन पनि उनले चेतावनी दिए।
'उहाँहरूले वाम गठबन्धनका विरुद्धमा बागी उम्मेदवारी दिनुभएको छ, चुनाव चिह्न अर्कै छ तर हँसिया हथौडा भएको झन्डा बोकेर अर्कै चुनाव चिह्नमा भोट माग्ने अधिकार कसले दियो?' मन्त्री बस्नेतले भने।
यता नेकपा (माओवादी केन्द्र) जिल्ला शाखाले पनि निर्णय गरेर नै आफ्ना आधिकारिक उम्मेदवार उठाएको जनाएको छ। वाम गठबन्धनले सल्यानलाई अन्याय गरेको भन्दै त्यसका विरुद्ध पार्टीको निर्णय बमोजिम उम्मेदवारी दिएकाले बागी उम्मेदवार भनेकाहरू नै आधिकारिक उम्मेदवार भएको दाबी गरेको छ।
नेकपा (माओवादी केन्द्र) ले एक विज्ञप्ति जारी गर्दै कार्यकर्तालाई भ्रममा नपरेर बागी उम्मेदवारलाई जिताउन अनुरोध गरेको छ। वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बस्नेतले नै आफूहरुलाई उम्मेदवारी दिन लगाएको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले दाबी गरे। जिल्ला पार्टीको निर्णय बमोजिम नै उम्मेदवारी दिएकाले पार्टीको झन्डा बोक्नु कुनै नयाँ नभएको भन्दै समानुपातिक मत माग्नका लागि आफूहरूले पार्टीको झन्डा प्रयोग गरेको बुढाथोकीको भनाइ छ।
बागी उम्मेदवारले समेत पार्टीको झण्डा बोकेर प्रचारप्रसार गरिरहेको भए पनि गठबन्धनमा यसले कुनै प्रभाव नपर्ने नेकपा (एमाले) जिल्ला सचिव रमेश गौतम बताउँछन्।
माओवादी केन्द्रले भने वाम गठबन्धनका विरुद्ध उम्मेदवारी दिएको भन्दै सल्यानका ९ नेतालाई पार्टीको सदस्य नरहने गरी कारबाही गरेको यसअघि नै जानकारी गराइसकेको छ।
जिल्लाको प्रदेश 'क' मा गठबन्धनबाट गुलाबजंग शाह र बागीबाट भीमप्रसाद शर्मा, प्रदेश 'ख'मा गठबन्धनबाट प्रकश ज्वाला र बागीबाट जीतबहादुर पुनले उम्मेदवारी दिएका छन्। यस्तै प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट टेकबहादुर बस्नेत तथा बागीबाट उमाकान्त शर्माको उम्मेदवारी परेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।