हरारे- जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहेका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेका छन्।
लामो समय सत्तामा रहेका राष्ट्रपति मुगाबे बुधबार बिहानदेखि सेनाको नियन्त्रणमा छन्। उनले भने आफूले तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेका छन्।
यहाँको सेनाले देशको समग्र शासन सत्ता लगभग हातमा लिएको छ। उनलाई भने उत्तराधिकारीको चयन गर्ने सम्बन्धी विवादमा उनकै निवासमा नजरबन्दमा राखेको छ।
९३ वर्षीय मुगाबे जिम्बावेमा लामो समयदेखि सत्तामा छन्।
जिम्बावेको विपक्षी दलका नेताले भने मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बावेका जनताको हितमा हुने बताएका छन्। सेनाले देशमा नियन्त्रण कायम गरेको भए पनि यहाँ राजनीतिक दलका विरोध प्रदर्शन वा कुनै विरोधका कार्यक्रमहरु भएका छैनन्।
उनले राजीनामा दिन नमानेपछि अब सेनाले के कस्तो रणनीति लिन्छ भन्ने बारेमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन्।
केही अफ्रिकी मुलुकका विदेशमन्त्रीहरुले भने जिम्बावेको सेनालाई कुनै पनि हालतमा सत्तामा लिएको नियन्त्रण फिर्ता लिन र देशलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरिरहेका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।