फलेवास- भोलानाथ शर्मा, पेशाले कानुन व्यवसायी। उनलाई राजनीतिकर्मीभन्दा कानुन व्यवसायीका रुपमा धेरैले चिन्ने गरेका छन्। पछिल्लो समयमा धौलागिरिको कानुन व्यवसायको क्षेत्रमा लिनैपर्ने नाममध्ये उनी पनि एक हुन्।
नेपाल सरकारले वर्गीकरण गरेको ‘ख’ वर्गको अपांगता भएका व्यक्ति हुन् उनी। तर अपांगता भए पनि उनमा अहिले संसद्मा पुग्ने अठोट छ। उमेरले ४६ वर्ष पुगेका उनी नेकपा एमालेबाट प्रदेश नं ४ अन्तर्गत प्रदेशसभा सदस्यमा समानुपातिकतर्फका उम्मेदवार हुन्।
यसअघिका चुनावमा पनि एमालेबाटै पटक समानुपातिक सूचीमा सिफारिश भए पनि अन्तिम अवस्थामा नाम काटिँदै आएका शर्मा अहिले भने आफ्नो व्यवसायलाई पन्छाउँदै वैशाखी टेक्दै मतदाताको घरदैलो धाउन थालेका छन्।
नेपाल पत्रकार महासंघ पर्वतको संस्थापक अध्यक्ष शर्मा, बार इकाई पर्वतका वर्तमान अध्यक्षसमेत हुन्। 'पत्रकारिता र कानुन व्यवसायमा रहँदा पार्टीको पक्षमा हिँडिन, हिँड्नु पनि हुँदैनथ्यो,' उनले भने, 'त्यही कारण म पछि परेको हुँ अब सबै पेशा त्यागेर राजनीतिमा होमिएँ।'
कानुनमा समेत अपांगता भएका सक्षम व्यक्तिलाई स्थान दिने प्रावधान भएकाले आफ्नो बलियो दाबी रहेको उनी बताउँछन्। २५ वर्षभन्दा बढी कानुन व्यवसाय र पत्रकारिता क्षेत्रमा सक्रिय शर्मा प्रदेशसभाअन्तर्गत समानुपातिक सूचीमा खस आर्यबाट सिफारिशमा परेका हुन्। 'लामो समय वैशाखीकै भरमा अदालत धाएँ, समाचार संकलनमा विभिन्न सभा, समारोह र कार्यक्रममा धाएँ,' उनी भन्छन्, 'अब मैले यही वैशाखी टेकेरै संसद् चढ्ने अठोट लिएको छु।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।