राजविराज- आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा व्यापकरुपमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएको छ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराजमा आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले निर्वाचनमा जित्नुपर्ने होडबाजी तथा एक अर्काको प्रतिस्पर्धाले गर्दा अहिले जिल्लामा आचारसंहिता उल्लंघन भइरहेको बताए।
उनले जिल्लाको विभिन्न ठाउँ र राजविराजकै मुख्य चोक गजेन्द्र नारायण र दशन चोकमा अनुगमनका क्रममा उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको बताए। उक्त ठाउँमा उम्मेदवारको तस्वीरसहित पोस्टर पम्पलेट टाँसेका छन्।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य दल वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन, अन्य दल तथा स्वतन्त्र उम्मेदवारले राजविराजस्थित अदालत तथा सरकारी कार्यालय एवं सार्वजनिक संस्थामा समेत चुनावी पोस्टर पम्पलेट टाँसेर आचारसंहिता उल्लंघन गरेको पाइएको स्थानीय प्रशासनले जनाएको छ।
प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकाको तस्वीर र चुनाव चिह्न अङ्कित पोस्टर सरकारी कार्यालय, निवास, सार्वजनिक संस्थाको भवन, पर्खालमा छ्यापछ्याप्ती टाँसिएको अवस्थामा रहेको पाइएको छ।
आचारसंहिताविपरीत भड्किलो प्रचारप्रसारमा उत्रिएका उम्मेदवारले जिल्लाको विभिन्न सार्वजनिकस्थल, मठमन्दिर, सरकारी कार्यालय, विद्युतीय पोल लगायतका स्थानमा पर्चा पोष्टर टाँसेकाले यसप्रति स्थानीय प्रशासन र निर्वाचन कार्यालयको ध्यान जान जरुरी रहेको नगरवासीको भनाइ छ।
निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ ‘झ’ मा निर्वाचनसम्बन्धी प्रचारप्रसारका लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतको कुनै पनि सार्वजनिकस्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न लगाउन नहुने उल्लेख छ।
आचारसंहिताको उल्लंघन नहोस् भनेर सचेत रहेको र निगरानी गरिरहेको भन्दै मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले आचारसंहिता उल्लंघन भएको ठाउँमा प्रचापम्पलेट र उम्मेदवारको तस्वीरसहितको पोस्टर हटाउने कार्य भइरहेको बताए।
साथै सप्तरीको राजविराज नगरपालिका लगायत जिल्लाको विभिन्न ठाउँमा राजनीतिक दलबाट पोष्टर ,पम्पलेट टाँसिएको छ भने अविलम्ब हटाउन सबैलाई अपिल गर्दै उनले यदि आचारसंहिता उल्लंघन गरेको पाइएमा कारबाहीसमेत हुने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।