रौतहट– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको रौतहट क्षेत्र नम्बर १ मा वाम गठबन्धन, नेपाली कांग्रेस र राजपा नेपालका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
रौतहट–१ मा राजपाले अध्यक्ष मण्डलका सदस्य अनिल झालाई उम्मेदवार बनाएको छ भने कांग्रेसले जिल्ला सभापति कृष्णप्रसाद यादवलाई र वाम गठबन्धनले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सत्यनारायण भगतलाई चुनावी मैदानमा उतारेको छ।
राजपाका उम्मेदवारलाई संघीय समाजवादी फोरमको समेत साथ छ।
मधेसमा राम्रो जनाधार भएको संघीय समाजवादी फोरमको साथ पाए पनि राजपाका उम्मेदवार झा चुनाव जित्नेमा ढुक्क छैनन्। उनलाई कांग्रेस र वाम गठबन्धनबाट भन्दा पनि संघीय समाजवादी फोरमको केन्द्रीय सदस्य छाडेर रौतहट–१ मा स्वतन्त्र उम्मेदवार बनेका बबन सिंहको डर छ।
चुनाव प्रचारप्रसारका क्रममा राजपा–फोरम गठबन्धनका उम्मेदवार झाको तुलनामा स्वतन्त्र उम्मेदवार सिंहको पक्षमा जनलहर बढेको सो क्षेत्रका बुद्धिजीवीहरु बताउँछन्।
२०६४ सालको संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका बबन सिंह घरदैलोमा व्यस्त छन्।
मधेस आन्दोलनका क्रममा आफू स्थानीयस्तरमै सक्रिय रहेकाले पनि मतदाताले जिताउनेमा सिंह विश्वस्त छन्।
मधेसको समस्या सामधान गर्ने पार्टी राजपा नै भएको हुँदा आफूलाई मतदाताले विजयी बनाउने नेता झा दाबी गर्छन्।
नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णप्रसाद यादवले पनि आफ्नो जित निश्चित भएको दाबी गरेका छन्। रौतहट–१ कांग्रेसमय बनेको उनको दाबी छ। लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसको जित आवश्यक रहेको र जनताले जिताउने भन्दै उनी घरदैलोमा व्यस्त छन्।
त्यसो त वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रका पोलिटलब्युरो सदस्य सत्यनारायण भगत पनि चुनाव आफैंले जित्ने बताउँछन्। देशमा दीगो शान्ति तथा विकासका लागि पनि वाम गठबन्धनको जित आवश्यक रहेको उनको तर्क छ।
पार्टीगत भन्दा जातीय भोट बढी खस्ने र चुनावमा पैसाको ठूलो खेल हुने भन्दै स्थानीय अगुवाहरु उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।