बाग्लुङ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट फुटाएर शासन गर्ने कांग्रेसका दिन अब सकिएको बताएका छन्। बिहीबार बाग्लुङको गल्कोटमा वाम गठबन्धनको सभालाई सम्बाधेन गर्दै ओली र प्रचण्डले विगत लामो समयदेखि कांग्रेसले कम्युनिस्टलाई फुटाएर शासन गरिरहेको भन्दै अबका दिन कम्युनिस्टहरुको रहेको दाबी गरेका हुन्।
एमाले अध्यक्ष ओलीले अहिले जनताको चेतनास्तर माथि उठिसकेकाले जनता झुक्याउने काम नगर्न कांग्रेसलाई आग्रह गरे। उनले देशको आमूल परिवर्तन वाम गठबन्धनले मात्र गर्न सक्ने दाबी गर्दै आसन्न निर्वाचनमा गठबन्धनलाई विजयी गराउन आवश्यक रहेको बताए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा आफूसँग प्रतिस्पर्धा गराउन कांग्रेसले रुख डालेर हलो बनाएको व्यंग्य गरे। उनले भने, ‘कांग्रेससँग प्रतिस्पर्धा गर्न पाएको भए केही खुसी लाग्थ्यो, राप्रपालाई समर्थन गरेर भुल गर्यो।’
सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता देवेन्द्र पौडेलले पनि सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।