डडेल्धुरा- प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
देउवा आज गृहजिल्ला डडेल्धुरा आउँदैछन्। सुरक्षाका लागि १०४ जना प्रहरी, १५० जना म्यादी प्रहरीका साथै सशस्त्र प्रहरीलाई खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।
देउवाले आज जिल्ला सदरमुकाम अमरगढी-५ मा आयोजना गर्ने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले जानकारी दिए।
चार पटक मुलुकको प्रधानमन्त्री भएपछि देउवा दोस्रो पटक गृहजिल्ला आउन लागेको हुन्। उनी यो भन्दा अगाडि स्थानीय तहको निर्वाचन बेला एक हप्ता गृहजिल्ला बसेका थिए। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रधानमन्त्री देउवा चुनाव लड्दैछन्।
प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। मंसिर २ गते उनी बझाङ र बाजुरा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।