तेहरान- इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि गरिएको प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ।
भूकम्पबाट आवासीय, व्यापारिक र औद्योगिक भवनलगायत प्रशासनिक संचरनाको नोक्सानलाई लिएर तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षतिको आँकलन गरिएको हो। उक्त प्रतिवेदन इरानका राष्ट्रपति हसन रौहानीलाई बुझाइएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
सो भूकम्पबाट हजारौँ भवन र सरकारी संरचना ध्वस्त हुनुको साथै क्षतिग्रस्त भएको बताइएको छ। यस भूकम्पमा परी सयौँ व्यक्तिको मृत्यु हुनुको साथै अन्य हजारौँ घाइते भएका छन्।
कुर्दनजिकैको सहर हलब्जामा केन्द्रबिन्दु रहेको यस भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेका उद्धारकर्मीका अनुसार मृतकको सङ्ख्या अझै बढ्नसक्ने छ।
भूकम्पका कारण भत्किएको भग्नावशेषबाट केही व्यक्ति मात्र निकाल्न सफल भएको र अझै कैयौँ पुरिएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको हो।
इरान र इराकको सीमाक्षेत्रमा भूकम्प गएको थियो। यसबाट इरानतर्फका ८ वटा गाउँमा बढी क्षति भएको छ। अरु पनि कैयौं गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ।
इरानमा सन् १९९० आएको ७.४ म्याग्निच्युडको भूकम्पको कारण ४० हजार व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन लाख व्यक्ति घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।