राष्ट्रपति निर्वाचनका लागि तीन प्रतिस्पर्धी टेलिभिजन बहसमा उत्रिए। बहसमा न उनीहरु सोमालियामा मौलाएको वंशाणुगत राजनीतिको एजेन्डामा प्रवेश गरे, न कुनै प्रतिस्पर्धीमाथि आरोप–प्रत्यारोप नै लगाए। निकै संयमित मानिएको यो बहस सोमालियाको सामाजिक र आर्थिक योजनामाथि केन्द्रित थियो। सोमालियाको घरेलु र वैदेशिक नीतिको विषयमा उनीहरुले बहस गरे।
बहस कुनै घघडान राजनीतिक विश्लेषकहरुले नभई अस्थिर राजनीतिका कारण प्रताडित युवाले राष्ट्रपतिका प्रतिस्पर्धीसँग गरेका थिए। सोमालियाको ७० प्रतिशत जनसंख्या ३० वर्षको उमेरसमूहको छ। ‘राष्ट्रिय महत्वका विषय थुप्रै छन्। जसमाथि छलफल नै हुन सकेको छैन’, बहसमा सहभागी युवा अदान ह्युज भन्छन्।
नातावादको राजनीतिक संस्कारबाट वाक्क सोमालियाका युवा त्यसबाट छुटकारा चाहन्छन्।
‘युवाहरुले केही गर्न सक्दैनन् भन्ने सोच यहाँ हावी छ। जब हामी बहसमा उत्रिन्छौं, नेताहरु छक्क पर्छन्’, गुलिद अहमद जमा भन्छन्,‘हाम्रो बहस ठूल्ठूला मुद्दामा केन्द्रित हुन्छ। नातावादको राजनीतिलाई एकछिन बिर्सिएर हामी समृद्धिको खाका अघि सार्छौं।’
सोमालियाको राजनीति दुई ध्रुवमा बाँडिएको छ। एकथरी वंशाणुगत राजनीतिक प्रणालीको पक्षमा छन् भने अर्को त्यसको अन्त्यका लागि संघर्ष गरिरहेका छन्। वंशाणुगत राजनीति हावी भएकै कारण राजनीतिमा युवाहरुको आबद्धता छैन। राजनीतिप्रति उनीहरुको वितृष्णा छ।
‘वंशाणुगत राजनीति हावी भएकै कारण युवाहरु यसमा आउन सकेका छैनन्। परम्परागत राजनीतिक संस्कार हाबी हुँदा बूढापाकाको हातमा मात्र राजनीति घुमिरहेको छ। त्यसैले युवा तथा महिलाले अवसर पाउन सकेका छैनन’, युवा मोहम्मद फराह भन्छन्।
परम्परागत राजनीतिबाट विरक्तिएकै कारण सोमालिएका युवाहरुले मतदाता नामावलीमा नाम दर्ता गराएकै छैनन्। राजनीतिमा युवालाई आकर्षित गर्न केही अधिकारकर्मी पुरानो शैलीको राजनीतिलाई विस्थापित गर्ने अभियानमा सक्रिय छन्। राजनीतिमा युवाहरुको सक्रिय सहभागिता भयो र उनीहरुले नेतृत्व गर्ने अवसर पाए मात्रै सोमालियाको भलो हुने युवाहरुको ठम्याइ छ।
७० प्रतिशत जनसंख्या युवा भएको सोमालियामा बेरोजगार ७५ प्रतिशत छन्। साक्षरताको दर ४४ प्रतिशत छ, जसमा महिलाहरु २० प्रतिशत मात्र साक्षर छन्।
‘हामीलाई पुराना पुस्ताले असफल बनाए तर मताधिकार प्रयोग नगर्नु गलत विकल्प हो’, युवा अधिकारकर्मी खादर मरिनो भन्छन्।
राजनीतिमा सक्रियता बढाएर सञ्जाल विस्तार गर्दै अर्को निर्वाचनमा परम्परागत राजनीतिक संस्कारलाई पराजय गर्नुपर्ने मरिनोको भनाइ छ।
‘मताधिकारको प्रयोग गर्नुपर्छ, तर सही ठाउँमा युवा नेतृत्व ल्याउन सञ्जाल विस्तारमा सक्रिय हुनुको विकल्प छैन’, उनी भन्छन्।
संवैधानिक रुपमा निर्वाचित राष्ट्रपतिलाई सम्मान गर्नुपर्ने उनको तर्क छ। व्यक्ति गलत निर्वाचित भए पनि प्रणालीले सुधार गर्न सकिने भएकाले राजनीतिक प्रणालीको सुधारको अभियानलाई सशक्त बनाउनुपर्ने तर्क युवा अधिकारकर्मीको छ।
‘हामी कसलाई निर्वाचित गराउँछौं, त्यो प्रमुख विषय होइन। पाँच वर्षमा सोमालियाको विकासका लागि के योगदान गर्छौं, त्यो महत्वपूर्ण विषय हो’, राजनीतिक संस्कार परिवतर्नका लागि संघर्षशील युवाहरु भन्छन्।

सोमालियाका युवाहरु इतिहासको सम्मान गर्दै सुन्दर भविष्य निर्माण गर्ने प्रयासमा छन्। परम्परागत राजनीति प्रणालीप्रति धेरै वितृष्णा भए पनि केही सम्मान भने उनीहरुको मनमा छ। वंशाणुगत राजनीति प्रणाली नभएको भए सोमालिया स्वघोषित गणतान्त्रिक राज्य नरहने युवाहरुको भनाइ छ।
उनीहरुकै कारण सन् १९८० को गृहयुद्धपछि शान्ति आएकाले पनि परम्परागत राजनीति गरिरहेकाप्रति सोमालियाका युवाहरुको सम्मान छ।
‘परम्परागत राजनीति हाँकिरहेका नेताहरुकै कारण सोमालियामा शान्ति आयो। उहाँहरुको अग्रसरताप्रति हाम्रो सम्मान छ, तर अब सोमालियाको निर्णय तहमा युवाहरुको सहभागिता अत्यावश्यक छ’, युवा ह्युज भन्छन्, ‘वंशमा परेकै कारण सोमालियाको राजनीतिमा स्थान पाउने संस्कृतिको अन्त्य हुनैपर्छ। अबको राजनीति आर्थिक समुन्नतिका लागि हुनुपर्छ।’
युवाहरुको चर्को दबावका कारण शैक्षिक सुधार, रोजगारी सिर्जना र राजनीतिक सुदृढीकरणका लागि राष्ट्रपतीय निर्वाचनका प्रतिस्पर्धी तयार भएका छन्। सत्तारुढ दल कुल्मे पार्टीका हुसेन बदानी युवाहरुको सशक्तिकरणको पक्षमा आफूहरु रहेको बताउँछन्।
‘युवाहरुको संलग्नताबिना मुलुकको समृद्धि सम्भव छैन भन्ने हाम्रो पार्टीले बुझेको छ। अब रोजगारीको लागि प्राविधिक तालिम र राजनीति सहभागिता गराउन हामी तयार छौंं’, बदानी भन्छन्।
प्रतिपक्षी दलका नेता अबिरहिद जेनीले आफ्नो पार्टीले जित हात पारे ४० प्रतिशत युवालाई सरकारी जागिर दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। राजनीतिक दलका नेताहरुले जेसुकै आश्वासन दिए पनि राजनीतिक प्रणाली परिवर्तन गरेरै छाड्ने पक्षमा छन्, सोमालियाका युवा।
‘यी वृद्ध राजनीतिज्ञ भविष्यको नेता हामी नै हो भन्ने दाबी गर्छन्’, मरिनो भन्छन्,’ तर हामीले त्यसलाई नकार्नुपर्छ। अबका नेता हामी हौं र यो समयको माग हो।’
एजेन्सीहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।