धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनविरोधी गतिविधि नियन्त्रण गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।
आसन्न निर्वाचनको विषयमा गृह मन्त्रालयले धनगढीमा आयोजना गरेको प्रदेश ७ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केही जिल्लामा उम्मेदवारमाथि आक्रमणका गतिविधि बढेको जानकारी आएको भन्दै निर्वाचनको सुरक्षा योजनामा रहेका त्रुटि समाधान गर्न निर्देशन दिए।
गृह मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका देउवाले उम्मेदवारहरुमाथि भएका आक्रमणका घटनाको सूक्ष्म रुपमा अध्ययन गरी आक्रमणकारीमाथि कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिने गरी काम गर्नुपर्ने बताए।
प्रधानमन्त्री देउवाले भौगोलिक विकटता, संरचनाको अभाव, निर्वाचनमा हुने मानवीय त्रुटि जस्ता चुनौतीका बाबजुद चुनावका लागि आवश्यक वातावरण बनाउन सम्बन्धित सबै पक्षसँग आग्रह समेत गरे।
गोष्ठीमा गृह मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाले निर्वाचन सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए।
गोष्ठीमा प्रदेश नम्बर ७ का नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।