काठमाडौं– वाम गठबन्धनले आफ्ना उम्मेदवारमाथि भएका सांघातिक आक्रमणमा सरकार रमिते बनेको आरोप लगाएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्ना उम्मेदवारमाथि आक्रमण र धम्की बढ्न थालेको दाबी गर्दै वाम गठबन्धनले त्यसमा सरकारको संलग्नताको आशंका गरेको छ।
केन्द्रीय निर्वाचन परिचालन कमिटिका प्रवक्ता विष्णु रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय सरकारबाट संरक्षित र उक्साहटमा विभिन्न घटना बढ्न थालेका छन्।’
चुनावी अभियानका क्रममा कात्तिक २८ मा पूर्व सञ्चारमन्त्री समेत रहेका एमाले नेता शेरधन राईमाथि आक्रमण भएको र सुनसरी–३ बाट एमाले उम्मेदवार भगवती चौधरीलाई कांग्रेस उम्मेदवारले नाम फिर्ता लिन धम्की दिएको वाम गठबन्धनको आरोप छ।
वाम गठबन्धन बनेपछि आतंकित बनेको कांग्रेस र सरकारले अराजनीतिक काम गरिरहेको सूचना प्राप्त गरेको दाबी गर्दै गठबन्धनले तत्काल त्यस्ता रवैया बन्द गर्न सरकारलाई सचेत गराएको छ।
सरकार निर्वाचन सम्पन्न गराउने काममा भन्दा आचारसंहिता उल्लंघन गर्न, कर्मचारीमा सरुवा आतंक मच्चाउन र आफ्ना उम्मेदवारमाथि भौतिक आक्रमणमा उदृत रहेको विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा उल्लेख छ, ‘उम्मेदवारले निर्भयताका साथ चुनावी प्रचारप्रसार गर्ने अवस्थाको सिर्जना गर्न सरकारसँग माग गर्दछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।