बेइजिङ (एजेन्सी)– चीनले आफ्नो विशेष दूत उत्तर कोरिया पठाउने भएको छ।
चीनको सरकारी मिडियाले बुधबार यसको जानकारी दिँदै राष्ट्रपति सी जिनपिङको विशेष दूत बनेर सोङ ताओ शुक्रबार उत्तर कोरिया जान लागेको जनाएको छ।
उत्तर कोरियाबाट लगातार पाएको परमाणु धम्की विरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै आफ्नो एसिया भ्रमणमा विभिन्न देशको समर्थन जुटाउने प्रयास गरेका थिए। पाँचदिने भ्रमण पूरा गरेर ट्रम्प अमेरिका फर्किएको एक दिनपछि नै चीनले आफ्नो दूत प्योङयाङ पठाउने निर्णय गरेको हो।
ट्रम्पले चिनियाँ राष्ट्रपति सीसँगको भेटमा उत्तर कोरियालाई 'ठाउँमा' राख्न चीनले केही कदम उठाउनुपर्ने बताएका थिए। उनले चेतावनीकै शब्दमा समयको रफ्तार धेरै अगाडि बढेकाले उत्तर कोरियालाई 'ठाउँमा' नराखेमा अमेरिकाले जस्तोसुकै कदम उठाउने बताएका थिए।
चीनबाट पाउने आर्थिक सहयोगबाट उत्तर कोरियाले परमाणु हतियार र मिसाइल बनाइरहेको अमेरिकाको ठहर छ। अमेरिका चीनले सो सहयोग बन्द गरोस् भन्ने पक्षमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।