काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारलाई निर्वाध रुपमा प्रचारप्रसार गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
आयोगले देशका विभिन्न स्थानमा उम्मेदवारलक्षित आक्रमण वृद्धि भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।
निर्वाचन नजिकिँदै गर्दा प्रचारप्रसारका क्रममा रुकुम, रोल्पा, भोजपुर, म्यादी, संखुवासभा, गोरखा लगायत जिल्लामा उम्मेदवार तथा प्रचारप्रसारका क्रममा रहेका कार्यकर्तामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले सुरक्षा व्यवस्था मिलाउन भनेको हो।
आयोगका सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा लोतकतान्त्रिक प्रक्रिया विरुद्ध अवरोध गर्नेलाई कानुनी कारबाहीको भागीदार बनाउन आग्रह गरिएको छ। आयोगले अनुगमनका क्रममा कम्युनिस्ट पार्टीको घरमा कालो झन्डा राख्ने, सम्पत्ति कब्जा गर्ने, मतदातालाई मतदान नर्गन धम्की दिने र निर्वाचन प्रचारप्रसारमा अवरोध गर्ने कार्य भएको विज्ञप्तिमा उल्लेख गरेको छ।
स्वच्छ, स्वतन्त्र र आवधिक निर्वाचन लोकतन्त्र र मानव अधिकारको पर्याय भएकाले त्यसलाई अवरोध गर्ने तत्वप्रति राज्य चनाखो हुनुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ।
निर्वाचनमा भाग लिन पाउने र आफूलाई इच्छा लागेको व्यक्तिलाई मतदान गर्न पाउने अधिकारको अवरोध नर्गन आयोगले सबै पक्षलाई आग्रह गरेको छ। स्वतन्त्र र भयरहित वातावरणमा चुनाव प्रचारप्रसार गर्न पाउने उम्मेदवारको हक र मतदान गर्न पाउने नागरिकको हक रक्षाका लागि सुरक्षा व्यवस्थालाई अपेक्षित रुपमा सक्षम र सवल तुल्याउन आयोगले सरकारलाई भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।