सुर्खेत- लेखफर्सा, सुर्खेतका रामसिंह थापालाई लाग्छ- नेताहरुको काम भनेको भोट माग्ने हो, यसका लागि जनताको आँखामा छारो हाल्ने काम मात्र गर्छन्। उनी भन्छन्, ‘चुनाव आउदा भिजेको बिरालोजस्तो बनेर नानाथरी प्रतिबद्धता लिएर आउँछन्। चुनाव सकिएपछि को नेता, को जनता कसैको वास्ता हुँदैन।’
वीरेन्द्रनगर ८ का शिव भण्डारीलाई पनि चुनावको समयमा उम्मेदवारहरुले दिने आश्वासन पूरा हुनेमा कत्ति पनि विश्ववास छैन। चुनावमा नेताहरू भोट माग्न आउने र आश्वासन मात्र दिएर फर्किने उनको अनुभव छ। 'अहिलेसम्म को नेताले राम्रो काम गरेको छन् र?' उनी भन्छन्, 'हामी जनतालाई त यी नेताहरूले चाहिने बेलाको भाडो मात्र बनाउने हुन्।’
वीरेन्द्रनगर ४ सुर्खेतका राजु हमालको मत पनि रामसिंह थापा र शिव भण्डारीको जस्तै छ।
‘जनताको मत पाउन र आफूले जित्ने लोभमा अहिले त विभिन्न प्रतिबद्धता र घोषणापत्र लिएर आउँछन्। चुनाव जितेपछि नेता कहाँ छन् भन्नेसम्म जनतालाई थाहा हुँदैन,’ हमालले भने।
विगतका विभिन्न चुनावका उम्मेदवारहरुले पनि अनेक आश्वासन दिएर पूरा नगरेकोमा उनको गुनासो छ। भन्छन्, ‘यसअघिको स्थानीय तहको चुनावमा पनि हामीले भोट दिएर जिताएका नेताहरू पद र कुर्सीमा पुगेपछि जनतालाई बिर्सिसके। पहिले हात जोडेर भोट माग्ने नेता अहिले भेट्दा बोल्नसमेत छोडिसके। अनि कसरी गर्छन् यस्ता नेताले जनतासँग गरेको प्रतिबद्धता पूरा?’
यी सर्वसाधारणकै भनाइबाट बुझ्न सकिन्छ, उम्मेदवारहरुले मतदाताबाट विश्वास गुमाउँदै गएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै छ। उम्मेदवारहरु चुनावी प्रचारका लागि टोलटोलसम्म पुगेका छन्। चुनावी घोषणापत्र र सार्वजनिक कार्यक्रममार्फत विकास र समृद्धिका आश्वासन बाँड्दै भोट मागिरहेका छन्। विगतमा जस्तै यसपटक पनि उम्मेदवारहरुले सडक, पुल, विद्युत, खानेपानी, सिँचाइ, सञ्चार लगायतका पूर्वाधार निर्माण नै आफ्नो प्राथमिकतामा पर्ने भन्दै मतदाताको मत जित्ने प्रयासमा छन्।
हरेक निर्वाचनमा उम्मेदवारहरुका यस्तै आश्वासन सुन्दै आइरहेका मतदाताहरुलाई यस पटकका उम्मेदवारका प्रतिबद्धता पूरा हुनेमा पनि विश्वास छैन। बरु उनीहरु भन्छन्, ‘चुनाव त केवल नेताहरुलाई कुर्सीमा पुर्याउने बाटो मात्रै भएको छ, उनीहरुका झुठा आश्वासनले हामी आजित भइसक्यौं।’
‘लेखफर्साको कुरा गर्ने हो भने यसअघिको चुनावमा गाउँमा खानेपानी र बिजुली ल्याइदिन्छौं भनेर सबै नेताले भनेकै हुन्,' रामसिंह थापा भन्छन्, 'अब अर्को चुनाव आइसक्यो। खै त कसैको मुख नै देखिँदैन। फेरि अबको चुनावमा भोट माग्न उही पुरानो आश्वासन दिन आउने हुन्।’
वीरेन्द्रनगर ११ का टीका पोखरेललाई चुनावमा दिएका आश्वास पछि पूरा हुनेमा कत्ति पनि विश्वास छैन। ‘पहिले कहिले चाहिँ नेताहरूले आफूले गरेको प्रतिबद्धता पूरा गरेका थिए र अबको चुनावमा गर्ने हुन्?’ उनी प्रश्न गर्छन्।
वीरेन्द्रनगर १४ का टोपबहादुर हमालले पनि विगत लामो समयदेखि निर्वाचनमा भोट हाल्दै आएका छन्। हरेक निर्वाचनमा उम्मेदवारहरुले चिल्ला कुरा गरे पनि जितिसकेपछि भने आफ्ना प्रतिबद्धता नै भुल्ने गरेको अनुभव उनीसँग छ। नेताका पूरा नहुने आश्वासले आजित भइसकेको उनी बताउँछन्।
‘२०१८ सालदेखि नेताहरूको आश्वासन सुन्दै आएका छौं, खै कसैले केही काम गरेनन्। अबको चुनावमा पनि नेताहरू आश्वासन नै दिने हुन्,’ उनको असन्तुष्टि छ, 'चुनाव हुँदासम्म अनुहार देखाउन आउने हुन्। चुनावपछि नेता कहाँ छन् भन्दै खोज्न जानुपर्छ। उनीहरूले गरेको प्रतिबद्धता पूरा गर्दैनन्।’
चुनावको समयमा दिइने आश्वासनप्रति आम नागरिकको विश्वास नभए पनि उम्मेदवारहरु भने अल्पकालीन र दिर्घकालीन योजनाको पोकोसहित विभिन्न आश्वासन बाँड्दै मतदाता फकाउन प्रयासरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।