सिओल- दक्षिण कोरियाका आप्रवासी मजदुरहरुको संगठन (एमटियू)ले यो वर्षको अन्तर्राष्ट्रिय मजदुर दिवस अप्रिल २८ मा मनाउने निर्णय गरेको छ।
विश्वभरी अन्तर्राष्ट्रिय मजदुर दिवस मे १ मा मनाइने भएपनि यहाँ विदेशी श्रमिकले बिदा नपाउने भएकाले बिदाको दिन पारेर अप्रिल २८ मा दिवस मनाउने तयारी गरिएको संगठनका महासचिव मधुसुदन ओझाले जानकारी दिए।
प्रवासी मजदुरका हकहितका लागि निरन्तर आवाज उठाउँदै आएको संगठनले यसपालीको मजदुर दिवसमा पनि विभिन्न मागसहित सरकारलाई दबाब दिइने बताएको छ।
एमटियूका अध्यक्ष उदय राईले यो वर्षको मे दिवसमा प्रवासी मजदुरको खाने-बस्ने खर्चसम्बन्धी निर्देशिका खारेज गर्नुपर्ने, प्रवासी मजदुरलाई न्यूनतम ज्याला छुट्टै दिन/पाउनको लागि बनाउन लागिएको कानुन फिर्ता लिनुपर्ने, कृषि क्षेत्रका मजदुरलाई तलब र बिदामा भेदभाव गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नुपर्ने, सबै अधिकार कम्पनी मालिकलाइ भएको इपिएसलाई स्वेच्छाले कम्पनी परिवर्तन गर्न पाउने लगायतका मजदुरको हकअधिकार सुनिश्चित भएको डब्लुपिएसमा रुपान्तर गर्नुपर्ने, काम गर्ने र खोज्ने अवधि लामो हुनुपर्ने लगायतका माग उठाइने बताए।
एमटियूले सिओल फोसिंगाक, रेल लाइन नम्बर १, जोंगाक स्टेसन, गेट नम्बर ४ मा हुने उक्त कार्यक्रममा सहभागिताको लागि यहाँका सम्पूर्ण आप्रवासी श्रमिकलाई आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।