काठमाडौं– शिक्षा सेवा आयोगले संसदबाट संशोधनसहित पारित भएको ‘शिक्षा ऐन नवौं सशोधन’ अनुसार सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई स्थायी पदपूर्ति गर्नेगरी विज्ञापन खोलेको छ। आयोगले मंगलबार स्थायीका लागि विज्ञापन खुलाएको हो।
आयोगको विज्ञापन अनुसार प्राथमिक तह, निम्नमाध्यमिक तह र माध्यामिक तह गरी तीन श्रेणी तोकेर अस्थायी शिक्षकका लागि विज्ञापन खोलेको हो। आयोगले २०७३ चैत्र १९ मा गोरखापत्रमा प्रकाशित पुरानै सूचना अनुसार परीक्षा सञ्चालन हुने भन्दै पुनः विज्ञापन गरेको हो। त्यसबेला विज्ञापन अनुसार पदपूर्ति नभएकाले शिक्षा ऐन, २०२८ मा नवौं संशोधन भएपछि आयोगले पुनः विज्ञापन खुलाएको हो। अयोगले तोकेको योग्यता र शर्त पूरा गरेका अस्थायी शिक्षकहरु उक्त परीक्षामा सहभागी हुन सक्ने व्यवस्था आयोगले जारी गरेको विज्ञापनमा उल्लेख छ। परीक्षामा सम्मिलित हुन इच्छुक योग्य उम्मेदवारबाट पुनः दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ।
आयोगले विज्ञापन अनुसार दरखास्त दिने अन्तिम मितिसम्म सुविधासहित अवकास लिन चाहनेले जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन आह्वान गरेको छ। आयोगले ०७३ चैत १९ को विज्ञापनलाई आधार बनाएर अवकासको निवेदन दिएका शिक्षकहरुलाई पनि पुनः निवेदन दिन भनेको छ।
शिक्षा ऐन, २०२८ मा नवौं संशोधनमा अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत कोटाको अधिकार सुरक्षित गर्दै खुला प्रतिस्पर्धालाई खुम्च्याइएको थियो। ०७३ चैत १९ को विज्ञापन अनुसार पदपूर्ति भएलगत्तै नयाँ विज्ञापन खुलाउने आयोगले जनाएको छ।
संसदमा निकै विवादका बीच पारित भएको शिक्षा ऐन, नवौं संशोधनको विधेयक फिर्ता पठाउनुपर्ने दबाब आए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक ६ गते प्रमाणीकरण गरेकी थिइन्।
शिक्षामन्त्री गोपालमान श्रेष्ठले संसदीय समितिमै नलगी सिधै सचिवालयबाट संसदमा पेश गरी नवौं संशोधन विधेयक पारित गराएका थिए।
विधेयकमा करिब ३० हजारको संख्यामा रहेका अस्थायी शिक्षकलाई स्थायी गराउने वा परीक्षामा पास हुन नसकेमा पैसा दिने व्यवस्था राखिएको भन्दै सांसदहरुले विरोध गरेका थिए। संशोधन विधेयकले खुला प्रतिस्पर्धाबाट योग्य शिक्षक आउने बाटो अवरुद्ध गरेको भन्दै चौतर्फी विरोध भएको थियो।
यस्तो छ विज्ञापन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।