काठमाडौँ - सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् ।
सोमवार बसेको समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।
उनकाअनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाइका लागि हाल उजुरी संकलन गर्ने प्रक्रिया जारी रहेको छ । प्राप्त उजुरीमध्ये सबै जना प्रस्तावित न्यायाधीशविरुद्ध दुई-दुई वटा, दुई जना जनाविरुद्ध तीन/तीन वटा र एक जनाविरुद्ध एक वटा उजुरी परेको जानकारी दिए।
सभापति श्रेष्ठले गोप्य नरहेका उजुरीहरूको अध्ययन प्रक्रिया अघि बढाइने जानकारी दिए। गोप्य रूपमा प्राप्त भएका उजुरी भने समितिको आगामी बैठकमा खोलेर अध्ययन गरिने उनको भनाइ छ । उजुरी अध्ययनपछि आगामी बैठकबाट प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
उनले भने, ‘यो न्यायाधीशको सुनुवाइको प्रक्रिया अगाडि अगाडी बढिरहेको छ, उजुरीको प्रक्रिया अगाडि बढिरहेको छ, हाल उजुरीहरू कलेक्सन भइरहेका छन् । अहिलेसम्म टोटलमा हाम्रो ९ वटा उजुरीहरू प्राप्त भएको छ । यो सबैजनाको लागि २ वटा उजुरी, अनि १ जनाको लागि ३ वटा, अनि १ जनाको लागि १ वटा, फेरि अर्को १ जनाको लागि ३ वटा उजुरी आएको कुरा पनि तपाईँलाई जानकारी गराऊँ । हामीले जति पनि गोप्य भनिएको छैन, गोप्य नभएकोलाई हामी अध्ययन गर्छौँ । गोप्य भनेकोलाई चाहिँ यसको अर्को बैठक बसेर फेरि त्यो उजुरी हामी खोल्छौँ र अध्ययन गर्छौँ । सुनुवाइको प्रक्रियालाई अगाडि बढाउँछौँ ।’उजुरी दिने समय कात्तिक १९ गतेसम्म तोकिएको छ । गत असोज २० मा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । यसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।