बैंकक, थाइल्यान्ड- थाइल्यान्डका नेपाली आप्रवासीहरुको कथा समेटिएको पुस्तक ‘थाइल्यान्डमा नेपालीहरुको इतिहास’ पुस्तक बैंककमा लोकार्पण भएको छ।
असी वर्षभन्दा बढी लामो समयदेखि थाइल्यान्डमा बसोबास गरिरहेका नेपाली डायस्पोराका बारेमा वर्षदिन लामो अध्ययन र अनुसन्धानपछि यो पुस्तक सार्वजनिक गरिएको हो।
थाइल्यान्डका नेपालीहरुको संस्था थाइ नेपाली संघले यही मार्च ३० र ३१ मा सम्पन्न पाँचौ महाधिवेशनमा पुस्तकको लोकार्पण गरेको छ।
थाइल्यान्डका लागि नेपाली राजदुत डा खगनाथ अधिकारीले पुस्तक पुस्तकको लोकार्पण गर्दै इतिहास खोजि हुन गर्वको कुरा भएको बताए। पुस्तकले नेपालीहरुको आप्रवासन र थाइल्यान्डमा नेपालीहरुको इतिहासबारे लुकेका तथ्यहरु बाहिर ल्याएको छ।
थाइल्यान्डमा रहेका बहुसंख्यक मानिसहरूका स्मृतिमा पिलोक भन्ने थाइल्यान्डको एउटा ठाउँको नाम यदाकदा जानकारीमा भएपनि त्यसको विगत जान्ने प्रक्रियाबाट उनीहरू टाढा थिए। अघिल्लो वर्ष थाइ नेपाली सङ्घले थाइल्यान्डमा नेपालीहरूको इतिहासका सन्दर्भहरूको खोजी गर्ने निर्णय गरेको थियो।
इतिहासको अध्ययन गर्ने यो सिलसिलाले नै थाइल्यान्डमा नेपालीहरूको इतिहासको महत्वपूर्ण पक्ष उजागर गर्ने प्रयास गरेको हो।
यसले इतिहासका महत्वपूर्ण सन्दर्भहरूको खोजी गरेको छ। उनीहरूको दैनिक जीवन, रहनसहन र चालचलनलाई अध्ययन गरेको छ। एउटा पहाडको टुप्पोमा कसरी उनीहरूले आफ्नो जीवनलाई चलायमान पारे र कसरी थाइल्यान्डको माईन उद्योगमा आफ्नो भूमिकालाई स्थापित गरे भन्ने कुरा पनि पुस्तकमा समावेश गरिएको छ।
आफ्नै विशेष धर्म, संस्कृति, रीतिरिवाज र परम्परा बोकेर करीब पचास वर्षको अवधि पिलोक बसेका नेपाली मूलका मानिसहरू लामो समय अनागरिकको रूपमा रहेको तथ्य पनि यसले बाहिर ल्याएको छ।
उनीहरूको अनागरिकदेखि थाइ नागरिकसम्मको यात्राको सन्दर्भ पनि पुस्तकमा समावेश गरिएको छ। पिलोकमा लामो समय बिताएका बूढापाका र अनुभवी मानिसहरू, थाइ नागरिकहरू, थाइ सरकार र सुरक्षा अङ्गमा रहेर काम गरेका करीब २ सयभन्दा बढी स्रोत व्यक्तिहरुसँगको कुराकानी, थाइल्यान्डमा भएको नेपालीहरुको आप्रवासानका ऐतिहासिक दस्तावेजहरुको अध्ययनपछि यो पुस्तक तयार गरिएको हो।
पुस्तकले नेपाली मुलका मानिसहरुको पुरानो दिनचर्या र उनीहरुको इतिहासलाई बाहिर ल्याएको र यो महत्वपूर्ण सुरुवात भएको राजदुत अधिकारीले बताए म्यान्माबाट आउनु भएका अखिल म्यान्मा देशीय हिन्दू धार्मिक संघका अध्यक्ष सागर घिमिरे र संरक्षक मणिलाल पौडेलले संघले नेपालीहरुलाई जोड्न दश वर्षमा नै महत्वपूर्ण काम गरेको बताए।
थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले थाइल्यान्डमा जन्मे हुर्केका आजका र भावी पुस्तालाई समेत पुख्र्यौलीहरुको महत्वपूर्ण कुरा जानकारी दिन इतिहासको पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे। कार्यक्रममा संघका संरक्षक डेभिट खनाल लगायतका व्यक्तिहरुले पनि पुस्तकको प्रशंसा गरे।
महाधिवेशनले कार्कीको अध्यक्षतामा संघको नयाँ कार्यसमिति गठन गर्नुको साथै यसका विभागहरुको पनि गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।