काठमाडौं– दक्षिण कोरियामा रोजगारीका लागि जान यस वर्ष भाषा परीक्षामा ८८ हजार युवाहरूले आवेदन दिएका छन्।
यो विगतका वर्षभन्दा अहिलेसम्मकै बढी आवेदन हो।
शनिबार १२ बजेसम्म ८८ हजार ७ सय ४६ जनाले परीक्षाका लागि आवेदन दिएको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए।
उनले भने, ‘बेलुकासम्म ९० हजारले आवेदन दिने अनुमान गरिएको छ।’
सबैभन्दा बढी आवेदन उत्पादनमुलक कामका लागि लागि ६१ हजार ३५ जनाले दिएका छन्। कृषि कामका लागि २७ हजार ७ सय ११ जनाले आवेदन दिएका छन्।
अघिल्ला वर्षहरूका तुलनामा यसवर्ष दक्षिण कोरिया भाषा परीक्षाका लागि आवेदन दिनेहरुको संख्या उल्लेख्य रुपमा बढेको शाखाले जनाएको छ।
भाषा परीक्षाका लागि गत बिहीबारदेखि आवेदन खुला गरिएको थियो। आतबार राति १२ बजेसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ।
कोरियन भाषा परीक्षा भने आगामी जेठ २५ र २६ गते हुने शाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।