काठमाडौं– बुधबार कमलादीमा पक्राउ परेका दुई भारतीयमध्ये एक भारतको केन्द्रीय विद्युत् प्राधिकरणको कर्मचारी भएको खुलेको छ । पक्राउ परेका हरबेन्द्र सिंह प्राधिकरणका कर्मचारी हुन्।
उनीसँगै पक्राउ परेका अर्का व्यक्ति जसवीर सिंह भने कृषि फार्म सञ्चालक भएको खुलेको छ । जग्गा भाडामा लिएर उनले खेती गर्दै आएका थिए । सोही जग्गाको विवादमा उनको पञ्जावको लुधियानामा दुश्मनी भएको थियो । सोही कारण आफूले पेस्तोल बोकेर हिँड्ने गरेको उनले बताएका छन्।
कमलादीको हेरिटेज प्लाजामा रहेको जोड ड्यानियल्स बारमा बिलको विषयमा विवाद हुँदा उनीहरुले गोली चलाएका थिए । भाग्दै गर्दा नजिकै उनीहरु पक्राउ परेका थिए । उनीहरुबाट एउटा पेस्तोल र ५१ वटा गोली भेटिएको छ । पञ्जाव प्रहरीको परिचयपत्र समेत भेटिएको छ, जुन उनीहरुको एकजना साथीको भएको खुलेको छ।
कसैको हत्याको योजनाले आएको बताइए पनि त्यसको केही संकेत नभेटिएको प्रहरीले जनाएको छ । ‘हत्याको योजनाले आउने सुटर गाडी चढेर आउँदैन’, एक प्रहरी अधिकारी भन्छन्, ‘त्यस्ता व्यक्ति डान्सबारमा गएर सानोतिनो झगडामा गोली चलाउने खालमा पनि हुँदैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।