काठमाडौं– मलेसियाको कलिङ भिसा लागेका नेपाली कामदार १० महिनापछि मलेसिया जान पाउने भएका छन्।
कलिङ भिसा लागेका श्रमिकहरूको संख्या यकिन गरी विवरण पठाउन यसअघि नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी संघलाई पत्राचार गरेको थियो।
संघले कलिङ भिसा आएर पनि मलेसिया जान नपाएका कामदारको विवरण मन्त्रालयमा बुझाएको थियो। सोही विवरणको आधारमा मन्त्रालयले कलिङ भिसा आएर पनि १० महिनादेखि मलेसिया जान नपाएका कामदारका लागि अन्तिम श्रम स्विकृति दिने गरी तयारी थालेको छ।
गत जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द भएपछि अहिलेसम्म खुल्न सकेको छैन।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले कलिङ भिसा लागेका ७ हजार ३ सयभन्दा बढी श्रमिकहरु १० महिनादेखि मलेसिया जान नपाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।