काठमाडौं- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्रै सञ्चालनमा नआउने निश्चित जस्तै भएको छ। अगस्टदेखि विमानस्थल सञ्चालनमा ल्याउने योजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनसँगै तुहिएको छ।
विमानस्थल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको काम समयमै सकिए पनि आवश्यक उपकरण जडानको सन् २०१९ को अन्त्यमा मात्रै सकिने भएको छ। जसका कारण विमानस्थलको रनवेमा परीक्षण उडान भए पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलको रुपमा सञ्चालनका लागि सन् २०२० को अप्रिल पुग्ने निश्चित भएको हो।
विमानस्थल निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ। विमानस्थल सञ्चालनका लागि चाहिने पूर्वाधार र उपकरण हो। आइसिबी जिरो १ (पूर्वाधार निर्माण) को काम ७० प्रतिशत सम्पन्न भइसकेको छ। तर, आइसिबी जिरो २ अन्तर्गतको लागि कम्पनी छनोटसँगै सन् २०१९ भित्र विमानस्थल सञ्चालनमा नआउने निश्चित भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवका आयोजनाले मार्च ७ मा ९ महिनाभित्र कम्युनिकेसन र नेभिगेसन उपकरण जडानका लागि कम्पनी छनोटसँगै विमानस्थल सञ्चालन हुने समय २०२० अप्रिल पुग्ने अवस्था आएको हो।
कार्यालयले ४.८ मिलियन डलरमा एरोनटिकल रेडियो अफ थाइल्यान्डसँग सञ्चार उपकरण र नेभिगेसन उपकरण जडानका लागि सम्झौता गरेको हो। सम्झौतामा ९ महिनामा काम सक्नुपर्ने उल्लेख भएको कार्याजनाका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए। सात वटा कम्पनीमध्येबाट यो कम्पनी छनोट भएको हो।
योसँगै विमानस्थल सञ्चालनका लागि आवश्यक सर्भिलेन्स उपकरण जडानको काम पनि अझै नयाँ प्रक्रियाबाट थालनी गर्नुपर्ने हुन्छ।
कसरी सम्भव छैन २०१९ भित्र विमानस्थल सञ्चालन?
प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवको आयोजनाले सेप्टेम्बर २० (असोज ४) मा विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानका लागि टेन्डरको सूचना गरेको थियो। टेन्डर सूचनामा आवेदन दिएका मध्येबाट मार्च ७ मा कम्पनी छनौट भएको छ। सम्झौतामा कम्पनीले २ सय ७० दिनमा उपकरण जडानको काम गरिसक्नुपर्ने उल्लेख छ। अब मार्च ७ मा दुई सय ७० दिन जोड्दा कम्पनीले डिसेम्बर ७ सम्मको समय पाउँछ। कम्पनीले काम गरेकै अवस्थमा पनि जडित उपकरणको परीक्षण गर्न
प्राधिकरणलाई ३० दिनको समय लाग्छ। त्यस समयमा कम्पनीले प्रारम्भिक रिपोर्ट मात्रै दिन्छ। कम्पनीले फाइनल रिपोर्ट दिन अर्को थप ३० दिनको समय पाउँछ। यी काम सकिए पनि लगत्तै विमानस्थल सञ्चालनमा ल्याउन पाइँदैन। यसका लागि फेरि एआइपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन) मा प्रकाशित हुनुपर्छ। यो प्रक्रियाका लागि ५६ दिनको समय लाग्छ।
यी माथिका सबै प्रक्रिया पूरा हुन न्यूनतम ३८६ दिन अर्थात् झन्डै १३ महिना लाग्छ। १३ महिना भनेको सन् २०२०का अप्रिलसम्म पुग्छ।
विमानस्थल सञ्चालनका लागि आवश्यक आइएलएस (इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम), सञ्चार उपकरण, मौसम मापन लगायतको उपकरण जडान सम्पन्न भई परीक्षण भएर मात्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) को मापदण्ड अनुसार विमानस्थल सञ्चालनमा ल्याउन पाइन्छ।
प्राधिकरणले पहिलो चरणमा आइकाओको क्याटेरिज–८ अन्तर्गत मापदण्डमा रहेर विमानस्थल सञ्चालनको मोडालिटीसमेत तय गरिसकेको छ।
‘विमानस्थल भनेको कच्ची बाटोमा यात्रुले गाडी धकेलेर सवारी चलाए जस्तो होइन,’ प्राधिकरण स्रोतले भन्यो, ‘सबै प्रक्रिया पूरा गरेर प्राधिकरणले जतिसक्दो छिटो विमानस्थल सञ्चालनमा ल्याउँछ।’
तर, सम्पूर्ण प्रक्रिया सक्दा विमानस्थल सन् २०२० भित्र मात्रै ‘फुल फेज’मा आउँछ। त्यसका लागि पनि विमानस्थलको आइसिबी–१ अन्तर्गत काम सकिनुपर्छ। चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले आइसिबी–१ अन्तर्गत ३ हजार मिटर रनवे, प्यारालल ट्याक्सी–वे, प्यारालल ट्याक्सी वे जोड्न ‘एग्जिट वे’, खोला फर्काउने, टर्मिनल भवन, टावर कन्ट्रोल भवन, प्रशासनिक भवन, अग्नि नियन्त्रण कार्यालय र जेनेरेटर घर निर्माणको काम गरिरहेको छ।
निर्माण कम्पनीसँग पहिलो पटक भएको सम्झौता सन् २०१७ डिसेम्बरमा काम सक्नुपर्ने उल्लेख छ। तर, सन् २०१५ अप्रिलको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले काममा अवरोध भएकाले सन् २०१९ जुलाईसम्म समय थप गरिएको छ। सम्भवत: तोकिएको समयमा पूर्वाधार निर्माणको काम सकिने प्राधिकरणको भनाइ छ।
‘सन् २०१९ डिसेम्बरभित्र विमानस्थलमा परीक्षण उडान गर्न सके गौरवको विषय हुनेछ,’ प्राधिकरण स्रोतले भन्यो, ‘अफिसियल रुपमा भन्दा अगस्टदेखि विमानस्थल सञ्चालनमा आउँछ भनुपर्ने बाध्यता छ।’
निर्माण लागत कति?
दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजना अन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको सहयोग छ। यो परियोजना कुल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी–१ का लगि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो।
यसैगरी, आइसिबी–२ अन्तर्गतको काममा लागि मार्च ७ मा सम्झौता भएको छ। प्राधिकरणले ४.८ मिलियनमा सम्झौता गरे पनि यस कामको लागि प्राधिकरणले ७.२५७ मिलियन रकम छुट्याएको थियो। यो आयोजनामा सबैभन्दा बढी एसियाली विकास बैंकको ५.४२ मिलियन अनुदान र ४२.०३ मिलियन ऋण सहायता छ। यसैगरी ओएफआइडीको १५ मिलियन डलर ऋण, सरकारको ५.७ मिलियन डलर ऋण र प्राधिकरणको १८.४ मिलियन डलर लगानी रहनेछ।
विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण र मुआब्जामा मात्रै २३ अर्बभन्दा बढी खर्च हुने अनुमान छ। यसबाहेक पनि प्राधिकरणको २ अर्बभन्दा बढी रकम खर्च हुने अवस्था छ।
यो पनि :
मन्त्री अधिकारीले भनेजस्तै सम्भव छैन अगष्टदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन (विवरणसहित)
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : असारदेखि सञ्चालन यसरी असम्भव
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।