इविन, चीन- कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सन् २०२० मा नेपालले मनाउन लागेको पर्यटन वर्ष सफल बनाउनका लागि नेपाल भ्रमण गर्न अन्तराष्टिय समुदायलाई आग्रह गरेका छन्।
चीनको सिचुवान प्रान्तस्थित इविन सहरमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलनको प्रमुख अतिथिसमेत रहेका खनालले नेपाल पर्यटनको माध्यबाट अन्तर्राष्टिय सम्बन्धलाई मजबुद बनाउन चाहेको बताए। ४० देशका झन्डै एक हजार प्रतिनिधि सहभागी सम्मेलनमा मन्त्री खनालले भने, 'हामी सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदैछौं। उक्त भ्रमण वर्षमा चिनियाँ तथा विश्वका अन्य राष्ट्रका पर्यटकको संख्या वृद्धि गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध थप प्रगाढ बनाउन चाहन्छौं।'
मन्त्री खनालले नेपालमा आगामी मार्च २९ र ३० मा हुन लागेको लगानी सम्मेलनमा धेरै मित्र राष्टहरुको सहभागिता र समन्वयको खाँचो महसुस गरेका बताए। उनले चीनले अघि सारेको एक क्षेत्र एक सडकको अवधारण ऐतिहासिक रहेको भन्दै यसले व्यवसायिक र सांस्कृतिक हिसाबले विश्वलाई जोड्न सफल हुने विश्वास नेपालले लिएको बताए।
मन्त्री खनालले गुणस्तरीय चिया उत्पादन हुँदाहुँदै पनि विश्व बजारमा सन्तोषजनक उपस्थिति जनाउन नसकिरहेको सन्दर्भमा नेपालको चियालाई विश्व बजारमा पुर्याउन सम्मेलनले उपलब्ध गराएको मञ्च नेपालको लागि ठूलो र अमूल्य अवसर रहेको बताएका थिए।
छिमेकी राष्ट्रहरु चीन र भारतको बीचमा रहेको नेपालले, बिकास र समृद्धिका दृष्टिले यी दुई मुलुकको सद्भाव र त्रिदेशीय सहकार्यको अधिकतम सदुपयोग गर्न चाहेको बताए।
हाल नेपालमा २८ हजार २ सय ४१ हेक्टर क्षेत्रफलमा चियारोपण भएको छ। चीनमा निर्मित मेसिनहरूको प्रयोग गरी चिया उत्पादन गर्ने एक सयभन्दा बढी साना चिया कारखानाहरू हाल सञ्चालनमा रहेका छन्। गत आर्थिक वर्षमा नेपालमा कुल २४ बिलियन किलो चिया उत्पादन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।