काठमाडौं- आगामी आर्थिक वर्षको बजेट बनाउँदा खरीद र भुक्तानी योजनासहित पूर्वतयारी गरेर मात्र बजेट तयार पार्न संघीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ।
अधिकांश आयोजनामा विनियोजित बजेट खर्च हुन नसक्ने र केही आयोजनामा बजेट नै नपुग्ने अवस्था देखिएको भन्दै समितिले बजेट बनाउँदा पूर्वतयारी गरेर मात्र रकम छुट्याउन निर्देशन दिएको हो।
समिति सभापति कल्याणीकुमारी खड्काले सबै मन्त्रालय, सचिवालय र सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिँदै आगामी वर्षको बजेट तयारी गर्दा पूर्व तयारी नभएका आयोजना तथा कार्यक्रममा बजेट प्रस्ताव नगर्न/नगराउन तथा चालू आर्थिक वर्षमा मध्यकालीन खर्च संरचनामा प्राथमिकीकरण गरिएका आयोजनामा खर्च गर्ने क्षमताको विश्लेषण गरेर मात्र बजेट प्रस्ताव गर्न निर्देशन दिएकी हुन्।
बजेट छुट्याउँदा त्यसको पूर्व स्वीकृति लिन पनि समितिले निर्देशन दिएको छ।
‘आगामी आर्थिक वर्षको बजेट प्रस्ताव र विनियोजन गर्दा खरीद योजना र भुक्तानी योजनासहित पेस गर्न तथा आगामी आवमा सञ्चालनमा गर्ने आयोजना तथा कार्यक्रमका लागि आवश्यक कार्यविधि, नीति नियमहरुलाई बजेट आउनु अगाबै टुंग्याउन सरकारलाई निर्देशन दिईन्छ,’ समितिको निर्देशनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।