काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चीन सरकारको सहयोगमा पूर्वसंभाव्यता अध्ययन सम्पन्न गरेको सो रेलमार्गको संभाव्यता अध्ययनका लागि तत्काल १७ अर्ब बजेट आवश्यक रहेको बताएका हुन्।
सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उहाँले बजेटको अभावमा वीरगंज–काठमाडौं रेलमार्ग निर्माणका लागि संभाव्यता अध्ययनको काम अघि बढाउन नसकिएको पनि स्पष्ट पारे।
सो रेलमार्गको पूर्व संभाव्यता भारत सरकारको सहयोगमा सम्पन्न गरिएको छ।
'भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणको संभाव्यता अध्ययनका लागि करिब ३५ अर्ब लाग्ने अनुमान गरिएको छ भने वीरगंज–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययनका लागि करिव ७ अर्ब लाग्ने अनुमान गरिएको छ,' सचिव अधिकारीले भने, 'तर यी दुबै कामका लागि बजेट अभाव छ।'
ती दुवै रेलमार्गको फिजिविलिटी अध्ययनको काम अघि बढाउन बजेटको अभाव रहेको सचिव अधिकारीको भनाइ छ।
सचिव अधिकारीले मन्त्रालयले चालू आर्थिक वर्षको हालसम्म मन्त्रालयले ३८ प्रतिशत पूँजीगत खर्च गरेको पनि समितिलाई जानकारी दिए।
सचिव अधिकारीले चालू आर्थिक वर्ष भित्र आफ्नो मन्त्रालयले लक्ष्य अनुसार नै पूँजीगत खर्च गर्ने दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।