काठमाडाैं- आन्तरिकतर्फ बन्द १२ वटा एयरलाइन्स कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई बक्यौता चुक्ता नगरी सम्पर्क बाहिर भएका छन्।
हाल सञ्चालनमा नरहेका र उडान अनुमतिसमेत खारेज भएका आन्तरिकतर्फ उडान भर्ने १२ एयरलाइन्स कम्पनीले विमानस्थल कार्यालयलाई ‘विमानस्थल सेवा शूल्क’ वापतको ८ करोड ४७ लाख ४ हजार रुपैयाँ भन्दा बढी रकम तिरेका छैनन्।
विमानस्थल कार्यालयका अनुसार कस्मिक र निकोन एयरको मात्रै ८ करोड रुपैयाँभन्दा बढी बक्यौता छ।
‘पैसा तिरेका छैनन् र तिराउने निकायले पनि के गरेको छ थाहा छैन’, नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको विमानस्थल कार्यालयमा कार्यरत एक कर्मचारीले ठट्ट्यौली शैलीमा सुनाए, ‘यो देशमा यसको सोधखोज गर्ने कसलाई फुर्सद?’
त्यसमा पनि सबैभन्दा बढी बक्यौता निकोन एयरको बाँकी छ। एक दशकअघि नै बन्द भएको नेकोन एयरका मालिक दीपमणि राजभण्डारी हुन् भने कस्मिक एयरका मालिक रवीन्द्रप्रसाद प्रधान।
अहिले दुई वटै एयरलाइन्सको उडान अनुमतिसमेत खारेज भइसकेको छ। तर, एयरलाइन्स कम्पनीले ८ करोडभन्दा बढी बक्यौता तिरेका छैनन्। विमानस्थल कार्यालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि रकम असुलीमा कुनै चासो देखाएका छैनन्।
विमानस्थल कार्यालयका अनुसार बन्द नेकोन एयरले विमानस्थल सेवा शुल्कवापतको ४ करोड ६३ लाख ८५ हजार ५३ रुपैयाँ तिर्न बाँकी छ। यसैगरी, सन् १९९७ देखि हवाई सेवामा प्रवेश गरेको कस्मिक एयर पनि अहिले बन्द भइसकेको छ। प्राधकिरणका अनुसार कस्मिक एयर २०६९ सालको मंसिर महिनादेखि बन्द छ।
कस्मिक एयरलाइन्सले पनि अहिलेसम्म विमानस्थल कार्यालयलाई तिर्न बाँकी रहेको बक्यौता तिरेको छैन। एयरलाइन्सले विमानस्थल कार्यालयलाई विमानस्थल सेवा शूल्क बापतको ३ करोड ३३ लाख १२ हजार ९ सय ६ रुपैयाँ बक्यौता रकम चुक्ता गरेको छैन।
यसैगरी एयर काष्ठमन्डपको ३ लाख २९ हजार, एयर नेपालको ७८ हजार ९ सय, अल्पाइन एयरको ७२ हजार ७ सय, ग्ररुण एयरको २७ हजार ४ सय, कर्णाली एयरको १६ लाख ६४ हजार, मुक्ति एयरलाइन्सको २६ हजार, नेपाल एयरवेजको ११ लाख ७९ हजार, सांग्रिला एयरको २ लाख ३७ हजार र स्काई एयरवेजको ७ लाख ३३ हजार रुपैयाँ भन्दा बढी बक्यौता बाँकी रहेको विमानस्थल कार्यालयले जनाएको छ।
उडान अनुमति तथा लाइसेन्स खारेज भई सञ्चालनमा नरहेका एयरलाइन्सको बक्यौता रकम ८ करोडभन्दा बढी भएपछि विमानस्थल कार्यालयले रकम असुलीका लागि प्रक्रिया थालनी गरेको विमानस्थल कार्यालयका प्रमुख क्षेत्री बताउँछन्। ‘बक्यौता रकम ८ करोडभन्दा बढी छ’, उनले भने, ‘कार्यालयले अहिले रकम असुलीका लागि पत्राचार गरेको भएपनि कोही सम्पर्कमा आएका छैनन्।’
विमानस्थल कार्यालयले सञ्चालनमा नरहेको एयरलाइन्ससँग असुल गर्नुपर्ने रकम असुलीका लागि नेपाल सरकारको ऐननियमले दिएको अधिकारसमेत प्रयोग गर्ने उनको भनाइ छ। तर, एयरलाइन्सले अहिलेसम्म विमानस्थल कार्यालयलाई तिर्न बाँकी रहेको बक्यौता तिरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।