काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले 'डिजिटल’ मालपोत बनाउने अभियान सुरु गरेकी छिन्। मालपोत र नापी कार्यालयसँग जोडिएर आएका नागरिकका जनगुनासा सम्बाेधनका लागि ‘डिजिटल मालपोत’ बनाउन मन्त्री अर्यालले अभियान सुरु गरेकी हुन्।
पहिलो चरणमा काठमाडौं उपत्यकाका मालपोत तथा नापी कार्यालयबाट सुरू गरिएको छ। मन्त्री अर्यालले कलंकी मालपोत कार्यालयको आइतबार अनुगमन गरी डिजिटल मालपोत बनाउने अभियानबारे जानकारी दिइन्।
एक वर्षमा देशैभरका मालपोत र नापी डिजिटल
कार्यालय अनुगमनपछि बोल्दै मन्त्री अर्यालले एक वर्षभित्र देशैभरका मालपोत र नापी कार्यालयलाई नमूना बनाउने गरी मन्त्रालय अगाडि बढेको जानकारी गराइन्।
पहिलो चरणअन्तर्गत असार महिनाभित्र उपत्यकाका सबै मालपोत र नापी कार्यालयलाई नमूना बनाउने जानकारी गराइन्। दोश्रो चरणमा एकवर्ष भित्र देभैभरका कार्यालय डिजिटल बनाउने गरी अगाडि बढेको बताइन्।
सुरूवात कलंकी मालपोत कार्यलयबाट गरी राजधानीका अन्य डिल्लीबजार र चाबहिल मालपोत कार्यालयलाई डिजिटल मालपोतका रुपमा विकास गर्ने मन्त्रालयको तयारी छ। मन्त्री अर्यालले भने, ‘उपत्यकका सहित देशभरका अन्य २ सय ४४ वटा मालपोत र नापी कार्यालय एक वर्षभित्र डिजिटल प्रणालीमा लैजान्छौं।
उनले पुराना धमिरा लागेका कागजपत्र फोटो खिचेर 'स्क्यानिङ' गर्ने र डिजिटल भर्सनमा परिणत गर्ने कार्य भइरहेको जानकारी गराइन्।
भ्रष्टाचार न्यूनिकरणका लागि डिजिटल प्रविधिमा जानैपर्ने उनको धारणा थियो। डिजिटल प्रणालीले ७० प्रतिशत भ्रष्टाचार कम हुने उनको आंकलन छ।
अनलाइन सेवा सुरू भएका १९ वटा कार्यालयको आधारमा राजश्वमा वृद्धि आएको जानकारी गराइन्। अब सबै कार्यालयमा बैंकिङ कारोबारमार्फत काम हुने उनल जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।