काठमाडौं- ललितपुर र मकवानपुर जिल्लाको सिमानामा निर्माण भइरहेको बागमती साना जलजिद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ। २२ मेगावाट उत्पादन क्षमता रहेको उक्त आयोजनाले शुक्रबारबाट परीक्षण उत्पादन सुरु गरेको हो।
२०७३ सालबाट निर्माण सुरु भएको उक्त आयोजना गत असारमा सम्पन्न गर्ने लक्ष्य रहेपनि चैतमा सरेको थियो। निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा भइरहेको निर्माणका कारण यो आयोजना निर्माण सम्पन्न गर्न केही ढिला भएको हाे। आयोजनामा २ हजार ४ सय ४० मिटरको टनेल निर्माण गरिएको छ।
करीब ४ अर्ब रुपैयाँ लागत रहेको उक्त आयोजना प्राइम बैंकको अगुवाइमा विभिन्न ११ वटा बैंकले लगानी गरेका छन्। माण्डु हाइड्रोपावरको लगानीमा बनेको उक्त आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने जनाएको छ। आयोजनामा कूल लागतको ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्व-पुँजी रहेको छ।
आयोजनाबाट उत्पादित विद्युत कुलेखानी सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा भने एक महिनापछि मात्रै जोडिनेछ। १५ दिनको परीक्षण अवधि र १५ दिनको सिओडीपछि आयोजना नेपाल विद्युत प्राधिकरणको मातहतमा जाने बागमती हाइड्रोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।