काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले 'डिजिटल' मालपोत बनाउने अभियान सुरु गरेको छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयसँग जोडिएर धेरै जनगुनासा आएकाले मालपोत र नापी कार्यालयलाई डिजिटल कार्यालय बनाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ।
मालपोत कार्यालयलाई नमुना बनाउने अभियान पहिलो चरणमा काठमाडौं उपत्यकाका मालपोत तथा नापी कार्यालय कलंकीबाट डिजिटल सेवा सुरू गरिएको छ।
डिजिटल सेवाको अनुगमन गर्न कलंकी मालपोत कार्यालय पुगेकी मन्त्री पद्माकुमारी अर्यालले एक वर्षभित्र देशैभरका मालपोत र नापी कार्यालयलाई नमुना बनाउनेगरी मन्त्रालय अगाडी बढेको बताएकी छन्।
असार महिनाभित्र उपत्यकाका सबै मालपोत/नापी कार्यालय नमुना बनाउने र एक वर्षभित्र देभैभरका कार्यालय डिजिटल बनाउने गरी अघि बढेको मन्त्री अर्यालको भनाइ थियो।
'आगामी असार मसान्तसम्म उपत्यकाका सबै मालपोत र नापी कार्यालय डिजिटल बनाउन लागेका छौं। त्यसको सुरूवात कलंकीबाट गरिएको छ। त्यसपछि डिल्लीबजार र चाबहिलबाट काम शुरू गर्छौं,' मन्त्री अर्यालले भनिन्, 'असार मसान्तसम्म उपत्यकाका सबै मालपोत कार्यालय डिजिटल बनाउछौं। त्यसपछि देशैभरका २ सय ४४ वटा मालपोत र नापी कार्यालय एकवर्षभित्र डिजिटल बनाएर सबै कार्यालय डिजिटलमय बनाउने गरी हामी अघि बढाउँछौं।'
मन्त्री अर्यालले सेवा प्रवाहको कार्य जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले सेवा प्रवाहलाई कसरी जनताले अनुभूत गराउने भन्नेगरी मन्त्रालय अगाडी बढेको उल्लेख गरिन्।
भूमि व्यवस्था मातहतका मालपोत र नापी कार्यालयहरूसँग जोडिएर सुशासनसँग जोडिएका प्रश्नहरू आउने गरेको भन्दै मन्त्री अर्यालले यसलाई प्रणालीगत रुपमा नै अन्त्य गर्न मन्त्रालय लागेको बताइन्।
पुराना कागजपत्र स्क्यानिङ गर्ने र डिजिटल भर्सनमा लगेर व्यवस्थित गर्नेगरी अघि बढेको भन्दै उनले कागजात पुरानो भएका कारण काम गर्न ढिलाइ भइरहेको जानकारी दिइन्।
'एकठाउँबाट पेश गरेको डकुमेन्ट बढीमा आधा घण्टामा अर्को ढोकाबाट काम पूरा हुने वातावरण बनाउन खोजेका हौं,' मन्त्री अर्यालले भनिन्, 'यसो गर्दा ७० प्रतिशत भ्रष्टाचार कम हुन्छ भन्ने विश्वास छ।'
अनलाइन सेवा शुरू भएका १९ वटा कार्यालय हेर्दा पछिल्ला वर्षहरूमा राजस्वमा बढोत्तरी भएकोले डिजिटल सेवा सफल हुने मन्त्री अर्यालको विश्वास छ। अब सबै कार्यालयमा बैंकिङ कारोबारमार्फत काम हुने मन्त्री अर्यालको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।