काठमाडौं- अर्थविद्हरुले लगानी सम्मेलन गर्दैमा विदेशी लगानी नभित्रने भन्दै लगानी मैत्री वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन्।
शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै अर्थविद्हरुले विदेशी लगानीमा देखिएका कानुनी र प्रक्रियागत जटिलतालाई सहज बनाउदै मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले लगानी सम्मेलनलाई उद्यारो र कपाली तमसुकमा सही गरेर निरन्तरता दिने काम नगर्न सरकारलाई सुझाव दिनुभयो। ठूला परियोजनाहरुको सवालमा जग्गा उपलब्ध गराउने, परियोजना स्थलका स्थानीयका माग सम्बोधन र सुविधा लगायतका बारेमा सरकारले प्रयत्न गर्ने भन्ने मात्रै उल्लेख गरेर मात्रै लगानी आकर्षण गर्न नसकिने दाबी गरे। ‘पुँजी आँफैमा एउटा लक्षण लिएर आउँछ, उद्यारो र कपाली तमसुकमा सही गरेर निरन्तरता दिने काम नहोस्,’ क्षेत्रीको भनाइ थियो।




व्यवस्था परिवर्तन भएपनि यसका परिचालकहरु पूरानै हुँदा समस्या देखिएको टिप्पणी गरेका क्षेत्रीले विदेशी कम्पनीहरुले लिदै छोड्दै गरेको पश्चिम सेती परियोजना आफ्नै कार्यकालमा बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई आफूले दुई कोणबाट हेरेको उल्लेख गर्दै भने, ‘यो परियोजनामा धेरै विदेशी कम्पनीहरुले धेरै लामो समय खाए, तर अहिले प्रधामन्त्रीले मेरै कार्यकालमा बनाएर छोड्छु भन्नुभएको छ, यसमा दुई वटा कुरा मैले देखेको छु, एउटा उहाँ जंगबहादुर राणा बनेर आफ्नो कार्यकाल लम्ब्याउने पक्षमा हुनुहुन्छ, र अर्को कुनैपनि दलालीहरुको कुरा नसुनेर साँच्चै देशको विकासमा लाग्नुहुन्छ।’
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् पूर्व राजदुत डा. शंकर शर्माले नेपालमा विदेशी लगानीको अवस्था अझै पनि सन्तोषजनक नरहेको टिप्पणी गरे। यसअघिको लगानी सम्मेलनमा गरिएको १४ खर्बको प्रतिबद्धता अहिले सम्म आउन नसकेको भन्दै उनले अबको सम्मेलनमा पनि लगानी सम्झौतामा हस्ताक्षर हुनुलाई मात्रै उपलब्धिपूर्ण मान्न नसकिने बताए।
पूर्व अर्थसचिव तथा राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका पूर्व कार्यकारी प्रमुख युवराज भुषालले सरकारले गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य भएपनि विगतमा गरिएको प्रतिबद्धता अनुसारको लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने तर्क गरे। ‘यसअघिको लगानी सम्मेनलमा सम्झौता भएका र सहमति गरिएका लगानी किन आएनन् ? यसबारेमा पनि कुरा कोट्याउनुपर्छ,’ उनको भनाइ थियो।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने लगानी सम्मेलनमा ३८ देखि ४० देशका ४ सय बढीको सहभागिता सुनिश्चत हुनुले नेपालका बारेमा अन्तराष्टिय जगतमा राम्रो संन्देश गएको पुष्टि भएको भन्दै सम्मेलन सफल र उत्साहप्रद हुने टिप्पणी गरे।
यही चैत्र १५ र १६ गते राजधानीमा लगानी सम्मेलन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।