काठमाडौं– दसैँमा ३ हजार रुपैयाँको सामान किनेकी नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत तामाङ बम्पर विजेता बनेकी हुन्।
नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत विजेता घोषणा गरेका थिए। विजेता घोषित भएलगत्तै उनीहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँको उपहार परेको जानकारी गराएका थिए।
सुरुमा फोनमा आएको खबरलाई मजाक ठानेकी तामाङले नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको जानकारी पाएपछि मात्रै आफू विजेता बनेको विश्वास गरेकी थिइन्।
कार्यक्रममा बम्पर उपहारसँगै असोज १६ देखि ३१ गतेसम्मका लागि १६ जना दैनिक विजेता पनि छनोट भएका छन्। उनीहरूले कर कट्टीपछि जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।
विभागका अनुसार यस अवधिमा बिल प्रविष्ट गरी २ लाख ७५ हजार ८८४ कारोबार कार्यक्रममा सहभागी भएका थिए। क्यूआर भुक्तानीबाट स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए।
उपहार विजेताहरूले आगामी कात्तिक १५ गतेभित्र आफूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।