काठमाडौं- मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको आर्थिक विवरणअनुसार ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ११ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन्।
सरकारले वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने लक्ष्य राखेको भए पनि अझै शाखा पुग्न नसकेका हुन्। सरकारले स्थानीय तहमा नै बैंकका शाखा पुर्याई वित्तीय पहुँच पुर्याउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ।
चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा पुर्याएर वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको छ। बैंकको विवरणअनुसार प्रदेश नं १ का कूल १ सय ३७ स्थानीय तहमध्ये गत माघ मसान्तसम्म मात्रै १ सय २९ बैंकका शाखा खुलेका छन्।
यस्तै प्रदेश नं २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३३ वटामा शाखा खुलेका छन्। सो प्रदेशमा तीन वटा स्थानीय तहमा मात्रै पुग्न बाँकी छन्। प्रदेश नं ३ का १ सय १९ स्थानीय तहमध्ये १ सय १४ वटा शाखा खुलेका छन्। सो प्रदेशमा अझै चार वटा स्थानीय तह वित्तीय पहुँचबाट टाढा रहेका छन्।
गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये हालसम्म ८२ वटा, प्रदेश नं ५ का १ सय ९ स्थानीय तहमध्ये १ सय ७ वटा बैंकका शाखा खुलेका छन्। कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ६४ वटामा बैंकका शाखा पुगेका छन्।
सुदूरपश्चिमको ८८ स्थानीय तहमध्ये ८२ वटामा बैंकका शाखा खुलेका छन्। अझै छ वटा स्थानीय तहमा बैंकका शाखा नखुल्दा वित्तीय पहुँच पुग्न सकेको छैन। देशभर नै बैंक तथा वित्तीय संस्थाका शाखा माघ मसान्तमा सात हजार ७ सय ३१ वटा पुगेका छन्।
त्यस्ता शाखा सङ्ख्या गत असार मसान्तमा छ हजार ६ सय ५१ रहेका थिए। केन्द्रीय बैंकको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १ सय ५१ रहेकामा माघ मसान्तमा बढेर १ सय ५७ पुगेका छन्।
यस्तै माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढ्दा १ सय ६४ वटा बैंक तथा वित्तीय संस्था सो प्रक्रियामा समावेश भएका छन्। त्यसमध्ये १ सय २२ वटा संस्थाको इजाजत खारेज भई ४२ संस्था कायम भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।