काठमाडाैं- उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत आयोजना निर्माणका क्रममा प्रभावित क्षेत्रका स्थानीयको समस्यालाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन्।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा २५ मेगावाट भन्दा माथिका आयोजनाका प्रबर्द्धकहरुसँगको छलफलमा उनले प्राकृतिक र भौगोलिक सुन्दरतामा आँच नपुग्ने गरी निर्माण कार्य गर्न सचेत गराए। उनले पर्यटकीय उच्च सम्भावना बोकेको मुलुक भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
लगानीकर्ता, स्थानीय र सरकारी निकायबीचको आवश्यक समन्वयन हुन नसक्दा अन्तर्राष्ट्रिय जगतमा नेपालमा लगानी मैत्री वातावरण छैन भन्ने सन्देश पुग्ने गरेको भन्दै उनले सरोकारवाला निकायबीच समन्वय र छलफल गरी समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए।
मन्त्री पुनले आयोजना निर्माणमा देखिने समस्याको दीर्घकालीन सम्बोधनका लागि सरकारले पनि आवश्यक नीतिगत सुधार गर्दै लैजाने विश्वास दिलाए।
उनले कृषिमा आत्मनिर्भरता र बाह्रमासे सिँचाइको अवधारणासहित सुरु भएका सिँचाइ आयोजनाहरुमा प्रदेश सरकारसँगको समन्वयमा केही समस्या देखिएको उल्लेख गरे।
आयोजना निमार्णमा देखिएको समस्या र सम्बोधनका विकल्पबारे मन्त्री पुनले २५ मेगावाटभन्दा माथिका आयोजनाका प्रबर्द्धकहरुसँग मन्त्रालयमा छलफल गरेका हुन्।
प्रबर्द्धकहरुले आयोजना निर्माणको क्रममा जग्गा प्राप्ति, वन क्षेत्र र बाटोको एकाधिकारबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए। छलफलमा १७ वटा आयोजनाका प्रबर्द्धक सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।