काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ। न्यूरोडस्थित विशाल बजार परिसरमा बिहान १० बजे हुने कार्यक्रममा लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गर्नेछन्।
असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत १६ जनाले जनही एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् भने एक जनाले बम्पर पुरस्कारस्वरूप ७ लाख ५० हजार रुपैयाँ हात पार्नेछन्। करकट्टीअघिको रकम दैनिक पुरस्कारका लागि १ लाख ३४ हजार ३३४ रुपैयाँ र बम्पर पुरस्कारका लागि १० लाख रुपैयाँ रहेको छ।
विजेता घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहने जनाइएको छ।
करदाता प्रोत्साहन उपहार कार्यक्रममार्फत करदातालाई प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।