काठमाडौं– नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको चियापान समारोह नगर्ने भएको छ। देश शोकमा रहेकाले यस वर्षको कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद घडीमा चियापान समारोह आयोजना नगरिने जानकारी दिएका हुन्।
विज्ञप्तिअनुसार भोटेकोसीमा आएको बाढीबाट ठूलो मानवीय क्षति भएको छ भने हजारौँ मानिस बेपत्ता छन्। बूढीगण्डकीमा आएको बाढीले पनि थप जनधनको क्षति गरेको छ।
कांग्रेसले यस दुःखद परिस्थितिलाई मध्यनजर गर्दै यसपालि कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम नगर्ने निर्णय गरेको जनाएको छ।
कांग्रेस सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित भएर परिवारमा सीमित रही मनाउन आग्रह गरेका छन्।
कांग्रेसका संस्थापक नेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा शुभकामना आदानप्रदान र आपसी सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले चियापान समारोह सुरु गरेका थिए। त्यसयता केही वर्षबाहेक कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।