काठमाडौं- यही चैत १५ र १६ गते आयोजना हुन लागेको दोश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत लगानी जुटाउनका लागि ५ हजार ५ सय मेगावाट उत्पादन क्षमता बराबरका १३ वटा जलविद्युत आयोजना छनाेट भएका छन्।
सम्मेलनमार्फत विदेशी लगानी भित्र्याउनका लागि नेपालले तयार पारेको ‘प्रोजेक्ट बैंक’हरुको सूचीमा कुल ४३ वटा आयोजनाहरु छनाेट गरिएका छन्। जसमध्ये, जलविद्युततर्फ लगानी बोर्डअन्तर्गत रहनेगरी ७ वटा आयोजना र निजी क्षेत्रबाट ६ वटा आयोजनाहरु छनाेट गरिएको लगानी बोर्डले जनाएको छ।
बोर्ड मातहतमा रहेर लगानी भित्र्याउन खोजिएका आयोजनाहरुमा पश्चिम सेती, तमोर, सुनकोशी–२, सुनकोशी–३, सेती रिभर (एसआर)-६, उत्तरगंगा र फुकोट कर्णाली जलविद्युत रहेका छन्। पश्चिम सेती जलविद्युत आयोजना ७ सय ५० मेगावाट, तमोर ७ सय ६३ मेगावाट, फुकोट कर्णाली ४ सय २६ मेगावाट, उत्तरगंगा ८ सय २८ मेगावाट, एसआर ७ सय ७६ मेगावाट, १ हजार १ सय १० मेगावाटको सुनकोशी–२, र ५ सय ३६ मेगावाटको सुनकोशी–३ आयोजना छनाेट भएका छन्।
यी ७ वटै आयोजनाको उत्पादन क्षमता कुल ५ हजार १ सय ५७ मेगावाट हुन्छ।
त्यसैगरी, निजी क्षेत्रबाट अघि बढ्न लागेका त्रिशुली गल्छी, तल्लो वरुण, मध्य कालीगण्डकी, माथिल्लो चमेलिया, इङ्वाखोला र म्याग्दीखोला जलविद्युत आयोजना रहेका छन्।
निजी क्षेत्रले विदेशी लगानी भित्र्याउन खोजेका आयोजनाहरुमा त्रिशुली गल्छी जलविद्युत आयोजना ३० मेगावाट, मध्य कालीगण्डकी ५३.६ मेगावाट, माथिल्लो चमेलिया ४० मेगावाट, इङ्वा खोला १८ मेगावाट, तल्लो वरुण १ सय ३२ मेगावाट र म्याग्दीखोला ५७.३० मेगावट उत्पादन क्षमता बराबरका रहेका छन्।
यसरी निजी क्षेत्रबाट ३ सय ३० मेगावाट उत्पादन क्षमता बराबरका आयोजनामा विदेशी लगानी खोज्ने सरकारको तयारी छ।
सरकारले केही समयअघि 'जनताको जलविद्युत कार्यक्रम'मा समावेस गरेको फुकोट कर्णाली जलविद्युत आयोजनालाई पनि लगानी बोर्डले विदेशी लगानी भित्र्याउनका लागि तयार पारिएका आयोजनाहरुको सूचीमा समेटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।