काठमाडाैं- उद्योगी व्यवसायीहरुले घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठले नेपाली उद्योगी आफैं समक्ष भएकाले घरेलु तथा साना उद्योगमा विदेशी लगानी नभित्र्याउन सरकारसँग माग गरे। नेपालका उद्योगनै विस्थापित हुने र नेपालमा बेरोजगारी समस्या झनै बढेर जाने भएकाले घरेलु तथा साना उद्योगमा विदेशी लगानी आवश्यक नरहेको उनको तर्क छ।
संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै सभापति श्रेष्ठले साना उद्योग विस्थापित हुने भएकाले यसमा विदेशी लगानी ल्याउने कानुनी व्यवस्था गर्न नहुने पनि स्पष्ट पारे। विधेयकमा कुखुरा पालनमा विदेशी लगानी भित्र्याउने प्रस्ताव गरिएकोमा उद्योगी व्यवसायीहरुको आपत्ति छ।
यता, विज्ञहरुले भने नेपाली उद्योग विस्थापित नहुने गरी विदेशी लगानी भित्र्याउँदा आपत्ति मान्नुपर्ने अवस्था नरहेको धारणा राखेका छन्। अर्थविद् एवम् पूर्व राजदुत डा शंकर शर्माले डेरी उद्योगमा विदेशी लगानी भित्र्याउँदा किसानहरुलाई प्रविधिसमेत भित्रिने भएकाले समस्या नहुने तर्क गरे। उनले कुखुरा पालनामा भने विदेशी लगानी ल्याउन नहुने गरी कानुन बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिए।
पूर्व उद्योग सचिव पुरुषाेत्तम ओझाले नेपालको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर विदेशी लगानी भित्र्याउनुपर्ने तर्क गरे। उनले विदेशी लगानी नेपालको लागि आवश्यक रहेकोतर्फ पनि सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए।
विधेयकमा माछापालन, मौरीपालनमा नेपाल आफैं सक्षम रहेको उल्लेख गर्दैै त्यसमा भने विदेशी लगानी आवश्यक नरहेको व्यवस्था गर्नुपर्ने आवाज उठेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।