पोखरा- नेपाली कांग्रेसका शीर्ष नेताहरुले वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा भएको बताएका छन्।
नेपाली कांग्रेस कास्कीको आयोजनामा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेताहरुले वाम गठबन्धन एकदलीय निरंकुश कम्युनिस्ट शासन तथा सर्वसत्तावाद कायम गराउने लक्ष्यका साथ अघि बढाइएको आरोप लगाए।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयासको थालनी भएकाले सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा जोड दिए। 'वाम गठबन्धनले आम सर्वसाधारणमा स्वतन्त्रताको हनन, अधिनायकवादको थालनी गर्ने जस्ता धेरै डर त्रास यतिखेर सर्वसाधारणमा छाएको छ,' उनले भने, 'लोकतन्त्रको स्थापना र यसको संस्थागत विकासका लागि निरन्तर संघर्ष गर्दै आएको कांग्रेसले मात्र डर त्रास मुक्त समाजको निर्माण गर्न सक्छ।'
वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न संघ र प्रदेशको निर्वाचन लोकतन्त्र जोगाउने कि अधिनायकवादतर्फ फर्कने बीचको सिद्धान्तको लडाइँ भएको बताए।
'नेपालमा लोकतन्त्रको रक्षा गर्ने चुनौती देखिएको छ,' उनले भने, 'लामो समयको संघर्ष र सहमतिले बनाएको संविधान उल्टाउने प्रयास भएको छ, दुई तिहाइ ल्याएर संविधान फेर्छौं भन्ने कुरा राम्रो होइन।'
कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुक जति समृद्धितर्फ अघि बढ्छ वामपन्थीको शक्ति त्यति घट्दै जाने तर्क गरे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।